विराटनगर । कोशी प्रदेश सरकारले नागरिकका गुनासा प्रत्यक्ष सुन्न र समाधान गर्न सञ्चालनमा ल्याएको ‘हेल्लो सीएम’ प्रणाली प्रभावकारी बन्दै गएको छ।
अनलाइन प्लेटफर्ममार्फत नागरिकले सोझै सरकारसम्म आफ्ना समस्या पुर्याउन सक्ने व्यवस्था भएपछि गुनासो समाधानमा सकारात्मक नतिजा देखिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्राप्त गुनासामध्ये करिब ७० प्रतिशत अनलाइन माध्यमबाटै फछ्र्यौट भएका छन्। हालसम्म दर्ता भएका १२५ वटा गुनासोमध्ये ७७ वटाको पूर्ण रूपमा समाधान भइसकेको तथ्याङ्कमा उल्लेख छ।
सर्वसाधारणलाई सहजता दिने उद्देश्यले सरकारले गुनासो दर्ताका लागि बहुविकल्पीय व्यवस्था गरेको छ। सेवाग्राहीले वेब एप, मोबाइल एप, राष्ट्रिय कल, इमेल, चिठी, गुनासो पेटिका वा कार्यालयमा प्रत्यक्ष उपस्थित भएर पनि समस्या दर्ता गर्न सक्ने सुविधा छ। साथै, दर्ता गरिएको गुनासोको सुनुवाइ कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनबाटै हेर्न सकिने व्यवस्था गरिएको छ।
तथ्याङ्कअनुसार गत चैत १२ गतेयता भने ‘हेल्लो सीएम’मा नयाँ गुनासो दर्ता भएका छैनन्।
पछिल्लो समय कोशी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका वन रक्षक सहायक तेस्रो तहका कर्मचारीहरूले तहअनुसारको पारिश्रमिक पाउनुपर्ने माग राख्दै गुनासो दर्ता गराएका थिए। उक्त विषयमा सुनुवाइ गर्दै मुख्यमन्त्री कार्यालयले थप व्यवस्थाका लागि संघीय अर्थ मन्त्रालय, सिंहदरबारमा पत्राचार गरिसकेको जनाएको छ। यसबाट ५१४ जना कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ।
‘हेल्लो सीएम’मा सहकारी पीडितका समस्या, कर्मचारीबाट हुने ढिलासुस्ती, कृषि, भ्रष्टाचार, स्वास्थ्य, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित गुनासाहरू बढी आउने गरेका छन्। साथै आपतकालीन सहायता, मागपत्र, ज्ञापनपत्र र विभिन्न सुझावहरू पनि यही संयन्त्रमार्फत प्राप्त हुने गरेको कार्यालयले जनाएको छ।
