काठमाडौं । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम–सीताको विवाह भएको स्मृतिमा आज देशभर पूजा–आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पनि भगवान् राम र सीताको विवाह महोत्सव आज धमाधम रूपमा सम्पन्न हुँदैछ ।
गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणअनुसार जनकनन्दनी सीताको विवाह भएको दिन विशेष रूपमा मनाउने मिथिलावासीयको परम्परा छ । कथा अनुसार मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले भाँचिदिएपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन उनीहरूको विवाह सम्पन्न भएको मानिन्छ ।
स्वयंवर र विवाहमा ५६ कोटी देवताको अदृश्य रूपमा उपस्थिति रहने विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा सम्मान गर्ने मिथिलावासी प्रतिछाया जन्तीको आगमनदेखि विवाहसम्म हर्षोल्लासका साथ सहभागी हुने परम्परा आज पनि जीवित छ ।
महोत्सवका क्रममा मिथिलेली संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर तथा विवाह संस्कार गरिन्छ । राम मन्दिरबाट बाजागाजा र झाँकीसहित रामको प्रतिमालाई डोला सिंहासनमा र जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा ल्याइन्छ ।
रङ्गभूमिमा स्वयंवर र परीक्षणको विधि सम्पन्न भएपछि राम–सीतालाई पुनः जानकी मन्दिर लगेर मिथिला संस्कारअनुसार विवाह गरिन्छ । यस अवसरमा निस्कने डोला शोभायात्रामा नेपालका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट आएका भक्तजनको ठूलो सहभागिता रहने गर्छ ।
रङ्गभूमि मैदानमा वर–बधु पक्षबीचको हाँसो–ठट्टा, गाउँगाउँबाट आएका प्रतीकात्मक झाँकी, र लाखौँ भक्तजनको उत्साहले वातावरण वास्तविक विवाहजस्तै भव्य बन्ने गर्दछ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव पछिल्ला दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित हुँदै आएको छ ।
भक्तजन बिहानैदेखि पवित्र सरोवर तथा नदीमा स्नान गरी पूजा–अर्चनामा तल्लीन हुन्छन् । साथै भजन–कीर्तन, रामलीला, झाँकी र प्रवचन लगायत धार्मिक कार्यक्रम पनि आयोजना गरिन्छ । देवताको मानवीकरणसँग जोडिएको यस विवाह महोत्सवमा सहभागी हुँदा मनोकामना पूर्ण हुने तथा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।
पहिले एक महिनासम्म भव्य रूपमा मनाइने यो महोत्सव हाल चार दिनसम्म सीमित गरिएको छ ।
