






विराटनगर । बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका आठवटा गाउँपालिका तथा नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न कोसी सरकारले सिफारिस गरेको छ । कोसी सरकारले संघीय सरकार समक्ष संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले यस घोषणाले ती क्षेत्रमा राहत, पुनर्निर्माण र सेवा प्रवाहलाई विशेष प्राथमिकताका साथ अघि बढाउन मार्ग प्रशस्त गर्ने जानकारी दिए।
बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले राहत, पुनर्निर्माण र अत्यावश्यक सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न तीन सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी रहेका छन्। कार्यदलले छिट्टै कार्ययोजना बनाएर काम सुरु गर्ने जनाएको छ।
साथै, विभिन्न प्रभावित जिल्लाहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल खर्च गर्न सक्ने गरी राहत रकम उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। सरकारले तत्काल राहत र पुर्नस्थापनका लागि इलामका लागि २५ लाख रुपैयाँ, झापाका लागि १० लाख रुपैयाँ, पाँचथर, मोरङ र सुनसरी जिल्लाहरूका लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरेको छ ।