Premier Cables

अन्तराष्ट्रिय

अमेरिकाको श्रम बजार सुस्त: रोजगार वृद्धिमा गिरावट, बेरोजगारी दर उकालो

Calendar मंगलबार, साउन २०, २०८२  | बिहान १०:३२ बजे

काठमाडौं । अमेरिकी श्रम तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले अमेरिकी श्रम बजारमा सुस्ती आएको प्रस्ट पारेको छ। प्रतिवेदनले रोजगारी वृद्धिदर घट्नुका साथै बेरोजगारी दर बढेको देखाएको छ, जसप्रति विभिन्न क्षेत्रका विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शुक्रबार सार्वजनिक तथ्याङ्कअनुसार, साउन महिनामा अमेरिकी गैरकृषि क्षेत्रमा केवल ७३ हजार नयाँ रोजगारी थपिएका छन्। यो संख्या पूर्वानुमान गरिएको १ लाख ४ हजारभन्दा धेरै कम हो। बेरोजगारी दर पनि ४.१ प्रतिशतबाट बढेर ४.२ प्रतिशतमा पुगेको छ।

बिज्ञापन

श्रम विभागले यसअघि जेठ र असार महिनाका रोजगारी विवरणमा पनि संशोधन गर्दै, कुल २ लाख ५८ हजार रोजगारीमा गिरावट आएको जानकारी दिएको छ। विभागका अनुसार, यो गिरावट “सामान्यभन्दा ठूलो” हो।

उपभोगमा गिरावट, लगानीको कमी

आर्थिक तथा नीति अनुसन्धान केन्द्रका सह-संस्थापक डीन बेकरका अनुसार, रोजगारी र तलब वृद्धिमा देखिएको मन्दीले उपभोगमा गिरावट ल्याउन सक्छ, जुन लगानीबाट समेत पूर्ति हुन नसक्ने देखिएको छ। साथै, राज्य र स्थानीय सरकारहरू खर्च कटौती गर्न बाध्य हुँदै गएका कारण अर्थतन्त्रमा थप कमजोरी देखिन सक्ने उनले बताए।

अन्तर्राष्ट्रिय आर्थिक नीति प्रतिष्ठानका वरिष्ठ विज्ञ ग्यारी हफबाउरले निकट भविष्यमा श्रम बजारमा ठोस सुधारको सम्भावना न्यून रहेको बताए। “हालको परिस्थिति हेर्दा, केही महिना श्रम बजार कमजोर नै रहने देखिन्छ,” उनले भने।


भन्सार नीतिको असर

विशेषज्ञहरूले हालको रोजगारी मन्दीको कारण अमेरिकाले पछिल्लो समय अपनाएको भन्सार नीति पनि रहेको बताउँदै आएका छन्। डोनाल्ड ट्रम्पको कार्यकालमा व्यापारिक साझेदारमाथि लगाइएका उच्च भन्सार शुल्कहरूले बजारमा अनिश्चितता बढाएको विश्लेषण गरिएको छ।

हफबाउरका अनुसार, “भन्सार नीतिले उपभोक्ताको खर्च क्षमतामा नकारात्मक असर पार्छ, जसले रोजगारी सिर्जनालाई समेत प्रभावित गर्छ।” डीन बेकरले पनि भन्सारले क्रयशक्ति घटाउने र त्यसले उपभोग तथा लगानीमा असर पार्ने बताए।

श्रम बजारको सुस्तीले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई ब्याजदर घटाउने निर्णयमा प्रेरित गर्न सक्ने आँकलन गरिएको छ। हफबाउर भन्छन्, “निराशाजनक तथ्याङ्कका कारण फेडरल रिजर्भ ब्याजदर घटाउन बाध्य हुनसक्छ, जसले अर्थतन्त्रलाई केही राहत दिन सक्छ।”

श्रम बजारसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क विभागकी आयुक्त डा. एरिका म्याकएन्टार्फरलाई पदमुक्त गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत उनीमाथि “राजनीतिक उद्देश्यले तथ्याङ्क तोडमोड गरेको” आरोप लगाएका छन्, यद्यपि उनले त्यसको कुनै प्रमाण प्रस्तुत गरेका छैनन्।

हफबाउरले यो कदमलाई “पूर्ण रूपमा राजनीतिक निर्णय” भन्दै आलोचना गरे। मेरील्याण्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता क्ले राम्सेले यस्तो निर्णयले म्याकएन्टार्फरलाई श्रमसम्बन्धी मूल्याङ्कनमा प्रभावशाली आवाज बनाउन सक्छ भन्दै, सरकारले दिने तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने चेतावनी दिए।

*** समाप्त ***
Bagmati
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka