






इरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले इसराइली आक्रमणको जबाफ दिने भन्दै त्यसका लागि तयार रहन चेतावनी दिएका छन् । शुक्रबार बिहान इसराइलले इरानमाथि ब्यालिस्टिक मिसाइल र ड्रोन हमला गरेको थियो ।यसको जवाफ पछि दिइने खामेनीले बताएका हुन ।
उनले इरानले दिने जबाफ कडा र कठोर हुने बताएका छन् । यो अपराधका साथ यहूदी शासकले आफूलाई तीतो र पीडादायी भाग्यको लागि तयार पारेको छ र उसले यसको परिणाम भोग्ने निश्चित छ, खामेनीले भनेका छन्।
इरानमा आक्रमण गरेपछि इसराइलले देशभरि आपतकाल घोषणा गरेको छ।
इसराइलले इरानको सम्भावित जबाफको पूर्वतयारीस्वरूप देशव्यापी आपतकाल घोषणा गरेको हो। विद्यालय बन्ददेखि अस्पतालमा समेत बहिरंगबाहेकका सेवा बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ भने भेला गर्न पनि रोक लगाइएको छ। साथै सेनालाई पनि तयार रहन भनिएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इसराइलमाथि सुरक्षा चुनौती देखिएका कारण हमला गरिएको भनेका छन्। उनले इरानी आणविक भट्टी र हतियार कारखाना नष्ट नपारून्जेल आक्रमण जारी रहने पनि बताएका छन्। इरानमा आक्रमण गर्नुअघि प्रधानमन्त्री नेतन्याहूले आफ्नो मुख्य सहयोगी अमेरिकासँग परामर्श गरेका थिए।
अमेरिकालाई जानकारी गराएपछि इसराइलले इरानी आणविक भट्टी, हतियार कारखाना, आणविक हतियार उत्पादनमा खटिएका वैज्ञानिक र सैनिक उच्च अधिकारीहरूलाई लक्ष्य गरेर आक्रमण गरेको हो। इसराइलको आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर ९आइआरजिसी०का प्रमुख मेजर जनरल हुसेन सलामीको मारिएका छन्। उनीसँगै सेनाका अरू तीन प्रमुख अधिकारी पनि मारिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हुसेनलाई सर्वोच्च नेता खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए। इसराइलले आइआरजिसीको मुख्यालयमै हवाई आक्रमण गरेको बताइएको छ। सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ।
के भन्यो अमेरिकाले ?
इसराइलले इरानमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले पनि इरानलाई चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।
उनले इसराइलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन्। इरानमाथि इसराइलले गरेको आक्रमणमा हाम्रो संलग्नता छैन। मध्यपूर्वमा रहेका हाम्रा सैनिकहरूको रक्षा हाम्रो पहिलो दायित्व हो। इरानले जबाफी हमलाको रूपमा हाम्रा सैनिक शिविरमा आक्रमण नगरोस्, रूबिओले भनेका छन्।
उनले इरानमाथि आक्रमण जरूरी रहेको भनेर इसराइलले बताएको भनेका छन्। इसराइलले आत्मरक्षाका लागि इरानमाथिको आक्रमण जरूरी भइसकेको बताएको छ, विदेशमन्त्री रूबिओले भनेका छन्। यसअघि इरानले गत असोजमा इसराइलमाथि मिसाइल र ड्रोन हमला गरेको थियो। इसराइलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढ्ने खतरा उत्पन्न भएको छ।