काठमाडौं । म्यानमारको सेनाले विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा विवाह समारोहमा सहभागी, विद्यार्थी, शिक्षक र सर्वसाधारणसहित ५१ जनाभन्दा बढीको मृत्यु भएको छ ।
बीबीसीका अनुसार शनिबार दक्षिणी सान राज्यको मो बाई गाउँमा आयोजित विवाह समारोहलाई लक्षित गरी गरिएको आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् ।
यसअघि बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा सेनाले हवाई आक्रमण गरेको थियो । निर्वासित राष्ट्रिय एकता सरकारका अनुसार उक्त आक्रमणमा विद्यार्थी, बालभिक्षु र शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ ।
त्यस्तै, शनिबार साँझ पश्चिमी म्यानमारको रखाइन राज्यस्थित म्राउक–उ सहरको आवासीय क्षेत्रमा पनि सेनाले बम खसालेको थियो । स्थानीय समयअनुसार राति करिब ८ बजे भएको उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु र करिब २० जना घाइते भएको जनाइएको छ ।
म्राउक–उ सहर शक्तिशाली जातीय सशस्त्र समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो । उक्त क्षेत्रमा सैन्य शासनविरुद्ध सशस्त्र समूहहरू सक्रिय छन् । पछिल्ला आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वले भने कुनै प्रतिक्रिया दिएको छैन ।
सन् २०२१ मा सैनिक विद्रोहमार्फत आङ सान सुची नेतृत्वको निर्वाचित नागरिक सरकार अपदस्थ भएपछि म्यानमारमा गृहयुद्ध जारी छ । त्यसयता सेनाले आफ्नो नियन्त्रणबाहिर रहेका क्षेत्रलाई लक्षित गरी निरन्तर हवाई तथा स्थल आक्रमण गर्दै आएको छ ।
सेनाले राष्ट्रिय एकता सरकार र जातीय सशस्त्र समूहहरूको नियन्त्रणमा रहेका क्षेत्रमा गाउँ जलाउने तथा सैन्य कारबाही गर्ने गरेको आरोप लाग्दै आएको छ ।
यी पछिल्ला आक्रमण अन्तर्राष्ट्रिय न्याय अदालतले रोहिंग्या अल्पसंख्यक समुदायमाथि भएको नरसंहारसम्बन्धी मुद्दामा फैसला सुनाएको एक सातापछि भएका हुन् ।
सन् २०१७ मा म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि गरेको सैन्य कारबाहीमा हजारौँ मानिस मारिएका थिए भने सात लाखभन्दा बढी रोहिंग्या विस्थापित भएर देश छाड्न बाध्य भएका थिए । म्यानमारले भने नरसंहारको आरोप अस्वीकार गर्दै आएको छ ।
