काठमाडौं । कोलम्बियाको कार्टाजेना सहरस्थित एक सुपरमार्केटमा हतियारधारी समूहले २० जनालाई बन्धक बनाएको छ । नगद बोकेको बख्तरबन्द गाडी लुट्ने प्रयास असफल भएपछि आक्रमणकारीहरू सुपरमार्केटभित्र पसेर मानिसहरूलाई बन्धक बनाएका हुन् ।
समाचार संस्था रोयटर्सका अनुसार मंगलबार बिहान करिब ८ बजे आक्रमणकारीहरूले नगद बोकेको बख्तरबन्द गाडी लुट्न खोजेका थिए । सुपरमार्केटको सुरक्षा निगरानी गरिरहेका कर्मचारीले प्यानिक बटन थिचेर प्रहरीलाई खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।
प्रहरी पुगेपछि आक्रमणकारीहरू सुपरमार्केटभित्र प्रवेश गरी त्यहाँ रहेका मानिसहरूलाई नियन्त्रणमा लिएका थिए ।
आक्रमणकारीहरूले २० लाख अमेरिकी डलर, दुईवटा बख्तरबन्द गाडी र सुरक्षित रूपमा बाहिरिने व्यवस्था गर्न माग गरेका छन् । उनीहरू कार्टाजेनाबाट करिब १३० किलोमिटर टाढाको ब्यारेन्क्विला सहर जान चाहेको बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरमा अनुहार छोपेका र हतियार बोकेका आक्रमणकारी सुपरमार्केटभित्र देखिन्छन् । केही तस्बिरमा बन्धक बनाइएका मानिसका हात बाँधेर कुर्सीमा बसाइएको र भुइँमा घुँडा टेकाइएको देखिन्छ ।
कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले सुरुमा ३० जना बन्धक बनाइएको जानकारी दिएका थिए । तीमध्ये पाँच वृद्ध महिलासहित १० जनालाई मुक्त गरिएको छ । बाँकी बन्धकको सुरक्षित उद्धारका लागि प्रहरी, सेना र विशेष सुरक्षा टोली परिचालन गरिएको छ ।
रोयटर्सका अनुसार प्रहरीले सुपरमार्केट र आसपासका क्षेत्रलाई घेराबन्दी गरेको छ । नजिकैका भवनका छतमा समेत स्नाइपर तैनाथ गरिएको छ ।
आक्रमणकारीलाई नियन्त्रणमा लिन सञ्चालन गरिएको सुरक्षा अभियानका कारण राफेल नुनेज विमानस्थलमा ४५ मिनेटसम्म विमान अवतरणसमेत रोकिएको थियो ।
सुपरमार्केट सञ्चालक कम्पनी ग्रुपो एक्सिटोले विज्ञप्ति जारी गर्दै मानिसको जीवन र सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ । घटनालाई सरकारी निकायले सम्हालिरहेको र आफूहरूले सम्बन्धित निकायको निर्देशन पालना गरिरहेको कम्पनीले स्पष्ट पारेको छ ।
