काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको काम रोकिँदा मधेसमा आन्दोलन हुनसक्ने चेतावनी दिएका छन् । यसले आक्रोश बढ्ने उनको भनाइ छ ।
मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले आयोजना अलपत्र पार्ने नभई समयमै सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सरकारसँग माग गरेका हुन् ।
उनले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि र सिँचाइसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण आयोजना भएको बताए । करिब ६ वर्षअघि सुरु भएको यस आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भागमा गरी १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यसबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना पनि छ ।
आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु सन् २०२४ मे महिनामै भइसकेको भए पनि बाँधलगायत अन्य संरचना निर्माणको काम अघि बढ्न नसकेको भन्दै झाले सरकारसँग यसको कारण माग गरे ।
उनले आयोजना अघि बढ्न नसक्नुको कारण, काममा देखिएका अनियमितता र अबको कार्ययोजनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
झाले आयोजना रद्द भए मधेसमा आन्दोलनको अवस्था सिर्जना हुने चेतावनीसमेत दिए । मधेससँग जलविद्युत् उत्पादनका पर्याप्त स्रोत नभएको र मुख्य आधार कृषि नै रहेकाले सिँचाइ आयोजना रोक्नु उचित नहुने उनको भनाइ थियो ।
उनका अनुसार सुनकोसीको पानी मरिण हुँदै मधेसमा पुर्याउने यस आयोजनाले खेतीयोग्य जमिनमा सिँचाइ विस्तार गर्नुका साथै मधेसमा बढ्दो पानीको अभाव र मरुभूमीकरणको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
