Premier Cables
Premier Steel

कोशी प्रदेश

दुहबीमा फोहोरमैला व्यवस्थापन परियोजना

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | अपराह्न १:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुरूप सुनसरीको दुहबी नगरपालिकामा फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ।

परियोजना सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो। दुहबी नगरपालिकामा निर्माण गरिने यस परियोजनाको कुल लागत ५६ करोड रुपैयाँ रहेको छ। परियोजना सञ्चालनमा आएपछि सुनसरी र मोरङ जिल्लाका विभिन्न पालिकाको फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कोशी प्रदेश सरकारले २०८१ साल वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाका लागि १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानीसम्बन्धी समझदारी भएको थियो। ती समझदारीअनुसार निजी क्षेत्रबाट मात्रै सञ्चालन हुने कतिपय परियोजना सुरु भइसकेका छन् भने सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका परियोजनाहरू पनि कार्यान्वयनको चरणमा रहेका छन्।

हालसम्म पाँचवटा परियोजनाको परियोजना विकास सम्झौता (पीडीए) भइसकेको र थप १२ वटा परियोजना सम्झौताको चरणमा रहेको लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिनुभयो।

यसैबीच, परियोजनाहरूलाई अगाडि बढाउन कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच पनि समझदारी भएको छ। यस समझदारीपछि कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीका पूर्वाधारसम्बन्धी परियोजना कार्यान्वयनका लागि बैंकले आवश्यक लगानी तथा वित्तीय सहजीकरण गर्नेछ। प्रदेशको पूर्वाधार विकासलाई समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउने उद्देश्यले प्रदेश सरकारले बैंकसँग सहकार्यको पहल गरेको हो।

समझदारीपत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री कार्कीले नीतिगत तथा कानुनी सुधार गर्दै प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणमा अघि बढिरहेको बताउनुभयो। कोशी प्रदेश लगानीका दृष्टिले अथाह सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै उहाँले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी लगानी सम्मेलनमा भएका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै नीतिगत र कानुनी सुधारमार्फत प्रदेशमा समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ।”

मुख्यमन्त्री कार्कीले अहिलेको परिस्थितिमा स्टन्टमा रमाउने र विभिन्न विषय उठाएर अलमलिने प्रवृत्तिबाट माथि उठेर यथार्थमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको पनि औँल्याउनुभयो।

कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष महेशप्रसाद दाहालले बैंकले काम गर्ने क्षेत्र र अधिकारका विषयमा प्रकाश पार्दै कोशी प्रदेशको पूर्वाधार विकासमा साझेदार बन्न बैंक तयार रहेको बताउनुभयो।.
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग सञ्चालनका लागि ल्यान्ड पुलिङ गर्न सक्ने अवस्था नरहेको र जग्गा प्राप्तिको प्रक्रिया जटिल बन्दै गएकाले उद्योगधन्दा सञ्चालनमा कठिनाइ भइरहेको बताउनुभयो। उहाँले उद्योग सञ्चालनका लागि सहज रूपमा जग्गा उपलब्ध गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा दुहबी नगरपालिका र बूढीगंगा गाउँपालिकाका अध्यक्षहरूले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka