काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले लगातार चौथो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा पुगेको हो ।
काठमाडौंले ५ खेलबाट ८ अंक जोडेको छ । यो जितसँगै काठमाडौं प्लेअफ प्रवेशको निकै नजिक पुगेको छ । पाँच खेल खेलेको चितवन भने दोस्रो हार बेहोर्दै ५ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ ।
काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ३५ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे । डान मोस्लीले २९, ओपनर किमल मिसराले २८ र विकेटकिपर अर्जुन साउदले २३ रनको योगदान दिए ।
कुशल मल्ल १३ रनमा आउट भए भने कप्तान सिकन्दर राजा २ रनमै पेभेलियन फर्किए । एनपीएलमा डेब्यु गरेका काठमाडौंका गणेश गौतमले राजालाई आउट गरेका थिए ।
बलिङतर्फ काठमाडौंका सहान अराचिगेले २ विकेट लिए । जहानदाद खान, कप्तान करण केसी, सन्तोष यादव र गणेश गौतमले समान १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले रासिद खानको अर्धशतकको मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।
काठमाडौंका लागि रासिदले ५२ रन बनाएका थिए । उनले विलियम बोसिस्टो र सहान अराचिगेसँग महत्वपूर्ण साझेदारी गर्दै कमजोर सुरुवात गरेको टोलीलाई सम्हालेका थिए ।
योसँगै काठमाडौंले लगातार चार खेल जित्दै एनपीएलको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ ।
