Premier Cables
Premier Steel

कोशी प्रदेश

युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ: मुख्यमन्त्री कार्की

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २१, २०८३  | बिहान ११:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

खाँदबारी। कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ।

शनिबार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारी नेपाल सङ्खुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको बजेटमार्फत प्रदेशमै रहेर काम गर्न चाहने युवालाई लक्षित गरी उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँ बराबरको व्यवस्था गरिएको जानकारी दिनुभयो।

विज्ञापन

साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई लक्षित गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो। युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास प्रदेश सरकारले लिएको उहाँको भनाइ छ।

मुख्यमन्त्री कार्कीले युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो। उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको महत्त्वपूर्ण लक्ष्य रहेको उहाँले बताउनुभयो।

प्रदेश सरकारको विकास बजेट र स्रोतसाधन सीमित भएकाले चाहेजति विकास निर्माणका काम गर्न नसकिएको उल्लेख गर्दै उहाँले विगतका वर्षहरूमा विकासका आधार तयार गर्ने काम भएको बताउनुभयो। सडक सञ्जाल विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको प्रदेश सरकारले नीतिगत सुधार तथा सुशासन कायम गर्ने दिशामा समेत निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो।

कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राखेर आगामी दिनमा थप प्रभावकारी ढङ्गले काम गर्ने सरकारको लक्ष्य रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो।

यसैबीच, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नहुने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। सङ्घीय सरकारबाट हुने प्रेसविरोधी गतिविधिको समर्थन नगर्ने र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारहरूसँगै उभिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले वर्तमान सरकार पाँच वर्षसम्मै टिकेर काम गर्न सकोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै सरकार विधि, प्रक्रिया र कानुनसम्मत रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उहाँले संविधान र लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधि हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो।
यसैबीच, मुख्यमन्त्री कार्कीले शनिबारै खाँदबारीस्थित वरुण क्याम्पसको अनुगमन तथा निरीक्षण गर्नुका साथै स्वागत कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। सो अवसरमा बोल्दै उहाँले प्रदेशभित्रका सबै सामुदायिक क्याम्पसको स्तरवृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वरुण क्याम्पसको व्यवस्थापन सुधार तथा भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka