विराटनगर । दीपावलीको अवसर पारेर विराटनगरमा ४०० विद्यार्थीलाई चाडपर्वका सामग्री तथा शैक्षिक उपहार वितरण गरिएको छ ।
विराटनगर प्लेटिनम राउन्ड टेबल–११ र विराटनगर सफायर राउन्ड टेबल–१८ को संयुक्त आयोजनामा ‘हर इम्प्याक्ट ३.०’ कार्यक्रममार्फत मोरङको मुन्डेरीस्थित श्री देश कल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई उपहार प्रदान गरिएको हो ।
राउन्ड टेबल नेपालको पहलमा आयोजित कार्यक्रममा ४०० विद्यार्थीलाई विद्यालय झोला, टिलाइट मैनबत्ती, मिठाई तथा विभिन्न खाजा सामग्री राखिएका उपहार प्याकेट वितरण गरिएको आयोजकले जनाएको छ ।
चाडपर्वको खुसी सबै बालबालिकासँग बाँड्नुका साथै उनीहरूलाई अध्ययनप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । आर्थिक तथा सामाजिक अवस्थाका कारण कुनै पनि बालबालिका चाडपर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने सन्देश दिन पनि कार्यक्रमले सहयोग पुर्याएको जनाइएको छ ।
कार्यक्रममा राउन्ड टेबल–१८ का सचिव गौरव दुगर, राउन्ड टेबल–११ का अध्यक्ष मधुर दुगर, पूर्वअध्यक्ष पवन पारख, सुमित अग्रवाल तथा समाजसेवी मीनू दुगरलगायतको उपस्थिति थियो ।
उपहार पाएपछि विद्यार्थीहरूमा देखिएको उत्साह र खुसीले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा समुदायको सहभागिता बढाउँदै बालबालिकाको भविष्यप्रति सामूहिक जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको राउन्ड टेबल नेपालअन्तर्गतका दुवै संस्थाले आगामी दिनमा पनि सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

