Premier Cables
Premier Steel

खेलकुद

जनकपुर र कर्णाली दोस्रो जितको खोजीमा आमनेसामने

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | बिहान ९:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् । दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

पहिलो संस्करणमा उपाधि जितेर चर्चा कमाएको जनकपुर दोस्रो संस्करणमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भएको थियो । टोली अंकतालिकाको पुछारमा रहेपछि यसपटक जनकपुरमाथि पुनरागमन गर्ने दबाब छ । नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै पुरानो लय फर्काउने लक्ष्य जनकपुरको हुनेछ ।

विज्ञापन

यता, कर्णाली याक्स पनि जितका साथ प्रतियोगितामा अघि बढ्न चाहन्छ । पहिलो संस्करणमा काठमाडौं गोर्खाजलाई रनरेटका आधारमा पछि पार्दै शीर्ष चारमा पुगेको कर्णाली दोस्रो संस्करणमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । पाकिस्तानी खेलाडीको उपस्थितिबाट समेत पर्याप्त लाभ लिन नसकेको टोली यसपटक आफ्नो प्रदर्शन सुधार्ने योजनामा छ ।

आपसी प्रतिस्पर्धामा जनकपुर अघि

एनपीएलमा जनकपुर र कर्णालीबीच अहिलेसम्म तीन खेल भएका छन् । तीमध्ये जनकपुरले दुई खेल जित्दा कर्णालीले एक खेलमा सफलता हात पारेको छ ।

पहिलो संस्करणको लिग चरणमा जनकपुरले कर्णालीलाई आठ विकेटले पराजित गरेको थियो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर एक बलमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

सोही संस्करणको क्वालिफायरमा पनि जनकपुरले कर्णालीमाथि दुई विकेटको जित निकालेको थियो । लगातार दुई हार बेहोरेको कर्णालीले भने दोस्रो संस्करणमा जनकपुरलाई तीन रनले हराउँदै अघिल्ला नतिजाको बदला लिएको थियो ।

दुवै टोलीलाई जितको दबाब

यसपटक जनकपुर आफ्नो उपाधि विजेता पहिचानअनुसारको प्रदर्शन गर्दै अघिल्लो सिजनको निराशा बिर्साउन चाहन्छ । त्यसका लागि टोलीले ब्याटिङ, बलिङ र समग्र खेलमा एकरूपता देखाउनुपर्नेछ ।

कर्णाली भने अघिल्लो संस्करणमा जनकपुरमाथि निकालेको जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । आपसी प्रतिस्पर्धामा पछाडि रहेको कर्णालीलाई यस खेलमा जित निकाल्दै अन्तर घटाउने अवसरसमेत हुनेछ ।

दुवै टोलीका लागि यो खेल अंक जोड्ने अवसर मात्र नभई प्रतियोगितामा आफ्नो लय स्थापित गर्ने महत्त्वपूर्ण मौका पनि हुनेछ । जनकपुरले आफ्नो पुरानो दबदबा फर्काउन सक्छ वा कर्णालीले प्रतिस्पर्धालाई थप रोचक बनाउँछ, त्यसको टुंगो मैदानको प्रदर्शनले लगाउनेछ ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka