काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको विजेतालाई प्रदान गरिने पुरस्कार रकम सार्वजनिक गरेको हो ।
तेस्रो संस्करणको एनपीएल सोमबार (अक्टोबर २६) देखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ । नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा अघिल्ला दुई संस्करणमा सहभागी भएका आठवटै फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटकको एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ । साथै, प्रतियोगितामा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिनेछ ।
आईसीसीको मान्यतासँगै प्रतियोगितामा खेलाडीले बनाएका रन तथा अन्य प्रदर्शनको अभिलेखसमेत अन्तर्राष्ट्रिय क्रिकेटको सम्बन्धित श्रेणीमा समावेश हुने व्यवस्था गरिएको छ । यसले नेपाली क्रिकेट र खेलाडीको व्यक्तिगत उपलब्धिलाई थप महत्त्व दिने अपेक्षा गरिएको छ ।
