Premier Cables
Premier Steel

खेलकुद

एनपीएल: यस पटक के हुँदैछ नयाँ ?

डीआरएस, आईसीसीको मान्यता र विश्वस्तरीय खेलाडी

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | साँझ ४:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन यसपटक विभिन्न नयाँ प्रविधि, अन्तर्राष्ट्रिय मान्यता र विश्व क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिताका कारण विशेष बन्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गरिनेछ भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त भएपछि प्रतियोगिताको महत्त्वसमेत बढेको छ ।

यसअघि अम्पायरको निर्णयमाथि असन्तुष्टि जनाउँदै आएका खेलाडी तथा दर्शकको मागअनुसार यस सिजनमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिने भएको हो । यस प्रविधिबाट खेलाडीले अम्पायरको निर्णयमा चित्त नबुझे रिभ्यु माग गर्न सक्नेछन् ।

विज्ञापन

डीआरएस प्रणालीमा एलबीडब्लूको निर्णय जाँच गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ । यसले बलको दिशा, स्विङ, बाउन्स र स्टम्पमा बल लाग्ने सम्भावनाबारे दृश्य देखाउनेछ । त्यस्तै, ब्याट र बलबीच सम्पर्क भए–नभएको पत्ता लगाउन एज डिटेक्सन तथा साउन्ड वेभ प्रविधि प्रयोग गरिनेछ । रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरीसमेत भिडियो रिभ्युमार्फत हेर्न सकिनेछ ।

आईसीसीबाट आधिकारिक मान्यता प्राप्त भएसँगै यसपटकको एनपीएल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको मान्यताप्राप्त प्रतियोगिताका रूपमा अघि बढ्नेछ । यसले खेलाडीको प्रदर्शन, रन र विकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको अभिलेखमा समेट्न सहयोग पुग्नेछ । साथै, प्रत्येक फ्रेन्चाइज टोलीले आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको छ ।

यस सिजनको अर्को मुख्य आकर्षण विश्व क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिता हो । अस्ट्रेलियाका डेविड वार्नर, वेस्ट इन्डिजका एन्ड्र्यु रसेल, दक्षिण अफ्रिकाका डेविड मिलर र पाकिस्तानका साहिबजादा फरहानजस्ता खेलाडी मैदानमा उत्रनेछन् ।

त्यस्तै, इफ्तिखार अहमद, हुसैन तलात, शेरफेन रदरफोर्ड, स्कट कुग्लेइन, मोइन अली, जिम्मी निसम, हरमित सिंह, निरोशन डिकवेला, सिकन्दर राजा, रवि बोपारा, शाकिब अल हसन, मेहदी हसन, एन्जेलो म्याथ्युज, चारिथ असलन्का र चामिका करुणारत्नेजस्ता खेलाडी पनि विभिन्न टोलीमा अनुबन्ध भएका छन् । विदेशी खेलाडीको सङ्ख्या बढाउन सकिने व्यवस्थाका कारण प्रतियोगितामा थप अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने सम्भावना छ ।

नेपाली क्रिकेटले पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान विस्तार गर्दै आएको छ । दक्षिण एसिया विश्व क्रिकेटको प्रमुख केन्द्रमध्ये एक रहेकाले नेपालले पनि आफ्नो भौगोलिक अवस्थिति र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई अवसरका रूपमा उपयोग गर्न सक्ने देखिन्छ ।

राणाकालदेखि खेल्न थालिएको क्रिकेटको नेपालमा सय वर्षभन्दा लामो इतिहास छ । कुनै समय टुँडिखेल र सीमित मैदानमा खेलिने क्रिकेट अहिले अन्तर्राष्ट्रिय ध्यान खिच्ने प्रतियोगिता आयोजना गर्ने अवस्थामा पुगेको छ ।

एनपीएलले नेपाली खेलाडीलाई विदेशी खेलाडीसँग एउटै मैदानमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । डीआरएस प्रविधि, आईसीसीको मान्यता, चर्चित विदेशी खेलाडी र रंगशालामा थपिएका सुविधाले यस सिजनको एनपीएललाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण प्रतियोगिताका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka