विराटनगर । यमनका हुथी विद्रोहीहरूको आक्रमणपछि दुई सातासम्म बन्द रहेको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन् । यद्यपि, इरान समर्थित हुथी समूहले विमानस्थल अझै असुरक्षित रहेको भन्दै थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।
उडान अनुगमन गर्ने वेबसाइट ‘फ्लाइटराडार’का अनुसार आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान साउदी अरबकै जेद्दाह सहरतर्फ उडेको थियो ।
विमानस्थलले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सूचना जारी गर्दै अक्टोबर २५ देखि टर्मिनल–१ बाट आन्तरिक उडान र टर्मिनल–२ बाट राष्ट्रिय वायुसेवा कम्पनीद्वारा सञ्चालित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने जनाएको थियो ।
साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार पछिल्ला साताहरूमा हुथी विद्रोहीका निरन्तर आक्रमणको सामना गरिरहेका छन् । लामो समयदेखि कायम युद्धविराम भङ्ग भएपछि दुई पक्षबीचको द्वन्द्व थप चर्किएको हो ।
हुथी विद्रोहीले यसै महिना रियाद विमानस्थललाई लक्षित गरी गरेको एउटा आक्रमणमा १३ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ । उक्त आक्रमणलाई साउदी अरबमा एक दशकभन्दा बढी समययताकै घातक घटनामध्ये एक मानिएको छ ।
हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित विमानस्थललाई सैन्य लक्ष्यका रूपमा लिइएको भन्दै अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय वायुसेवा कम्पनीहरूलाई विमानस्थल प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले विमानस्थल प्रयोग गर्दा यात्रु, कर्मचारी तथा वायुसेवा कम्पनीहरू जोखिममा पर्न सक्ने बताएका छन् ।
यसैबीच, हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ ।
यमनमा जारी द्वन्द्वले अमेरिका र इरानबीचको व्यापक तनावलाई थप जटिल बनाउनुका साथै मानवीय सङ्कटसमेत गहिरिँदै गएको छ ।
