विराटनगर । मोरङको विराटनगरस्थित संसारीमाई भगवती मन्दिरबाट चोरी भएको दुर्गा भगवतीको मूर्तिसहित एक युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीबाट खटिएको बीआईटी टोलीले शनिबार दिउँसो विराटनगर महानगरपालिका–१५ स्थित नम्बर १ ढाटबाट भारततर्फ जाँदै गरेका धनकुटाको पाख्रिबास गाउँपालिका–८ निवासी २४ वर्षीय सुरज विकलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार असोज २४ गते दिउँसो करिब ४ः२० बजे शंकास्पद गतिविधि देखिएपछि विकलाई जाँच गरिएको थियो। भारततर्फ जान लागेका उनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जाँचका क्रममा विकको साथबाट दुर्गा भगवतीको मूर्तिसहित मन्दिरका अन्य सामग्रीसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा उक्त मूर्ति तथा सामग्री विराटनगर महानगरपालिका–१० स्थित संसारीमाई भगवती मन्दिरबाट चोरी भएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका विकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रानीमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
