Premier Cables

कोशी प्रदेश

मोरङमा धानखेतमा भेटियो सात हजार चल्ला

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | अपराह्न १:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेका सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ । रातको समयमा धानखेतका आली र सहायक बाटो प्रयोग गरी ल्याइँदै गरेका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टीबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट १४ वटा भारमा ल्याइँदै गरेका चल्ला बरामद गरेको हो । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्ति भारततर्फ फरार भएका थिए ।

विज्ञापन

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरिएको हो । बरामद चल्लाको अनुमानित मूल्य करिब सात लाख रुपैयाँ रहेको छ ।

बरामद चल्ला क्वारेन्टाइन कार्यालय, कुखुरा व्यवसायी तथा जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिने भण्डारीले बताए ।

मोरङका सीमावर्ती क्षेत्रमा भारतबाट चोरबाटो हुँदै कुखुरा तथा चल्ला भित्रिने समस्या नयाँ भने होइन । व्यवसायीका अनुसार सहायक बाटो तथा अनौपचारिक सीमा मार्ग प्रयोग गरी भारतीय कुखुरा, चल्ला र कुखुराजन्य वस्तु विभिन्न बजारसम्म पुर्‍याउने गरिएको छ ।

सुनसरीको इटहरीका पोल्ट्री व्यवसायी रमेश थापाले भारतबाट अवैध रूपमा कुखुरा तथा चल्ला भित्रिँदा नेपाली किसान र व्यवसायी प्रत्यक्ष प्रभावित भइरहेको बताए । उनका अनुसार भारतबाट सस्तोमा कुखुरा तथा चल्ला ल्याएर बजारमा बिक्री गर्दा नेपाली किसानले उत्पादन लागतअनुसारको मूल्य पाउन कठिन भइरहेको छ ।

‘भारतसँग कुनै पनि किसिमले प्रतिस्पर्धा गर्न सकिँदैन । खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरूले सस्तोमा कुखुरा र चल्ला भित्र्याएर बजारसम्म पुर्‍याउँदा नेपाली किसान र व्यवसायी संकटमा परेका छन्,’ थापाले भने ।

अवैध आयातले किसान र व्यवसायी मात्र नभई ह्याचरी, दाना उद्योग, कुखुरा व्यापारी तथा मासु व्यवसायमा समेत असर पार्ने उनको भनाइ छ । सीमा क्षेत्रमा निगरानी बढाउन र अवैध आयात नियन्त्रण गर्न व्यवसायीले सरकारसँग पटकपटक माग गर्दै आएको उनले बताए ।

कुखुरा तथा चल्लाको अवैध आयात मूल्यको प्रतिस्पर्धासँगै पशु स्वास्थ्य र क्वारेन्टाइनसँग पनि जोडिएको विषय हो । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र नियमावली, २०५६ अनुसार विदेशबाट आयात हुने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन जाँच र स्वास्थ्यसम्बन्धी प्रमाणपत्र आवश्यक पर्छ ।

विराटनगरस्थित पशु क्वारेन्टाइन कार्यालयले जोगबनी, भण्टाबारी र माडर नाकाबाट नेपाल भित्रिने पशु तथा पशुजन्य सामग्रीको स्वास्थ्य परीक्षण गरी निर्धारित मापदण्ड पूरा भए–नभएको जाँच गर्ने गरेको छ । निर्धारित नाका र क्वारेन्टाइन प्रक्रिया पूरा नगरी खेतका आली तथा सहायक बाटोबाट चल्ला भित्र्याउँदा पशुपन्छीमा संक्रामक रोग फैलिने जोखिमसमेत बढ्ने जानकारहरू बताउँछन् ।

व्यवसायी थापाले भारतबाट आउने कुखुरा, चल्ला र अण्डाको अवैध आयातलाई आर्थिक क्षतिसँगै पशु स्वास्थ्य सुरक्षाको विषयका रूपमा हेर्नुपर्ने बताए । सीमावर्ती क्षेत्रमा प्रतिबन्ध र स्वास्थ्यसम्बन्धी मापदण्ड हुँदाहुँदै पनि सहायक तथा चोर बाटो प्रयोग गरेर आयात हुने क्रम नरोकिएको उनको भनाइ छ ।

मोरङमा एकैपटक सात हजार चल्ला बरामद हुनु सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारको एउटा उदाहरण मात्र हुन सक्ने थापाको आशंका छ । उनका अनुसार रातको समयमा हुने ओसारपसार, सहायक बाटोको प्रयोग र बजारसम्म पुगेपछि स्रोत लुकाउने प्रवृत्तिमाथि प्रभावकारी निगरानी आवश्यक छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka