विराटनगर । विराटनगर महानगरपालिकामा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ भने घटनामा संलग्न सफारी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार २०८३ भदौ २८ गते बिहान ०६:३० बजे विराटनगर महानगरपालिका वडा नं. ७ स्थित मालपोत कार्यालय नजिकै एक पुरुष मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको थियो।
खबर पाएलगत्तै सिआरभी सिटीबैंक र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएर घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका-९ ठकुरवाडी चोकमा प्रदेश १-०२-००४ ह ९६७५ नम्बरको सिटी सफारीले ती पुरुषलाई ठक्कर दिएको खुलेको छ। ठक्कर पछि सफारी चालकले उपचारका लागि घाइतेलाई सोही सिटी सफारीमा लगेको भए पनि पछि सडक किनारमा छाडेर फरार भएका थिए।
खोजतलासका क्रममा प्रहरीले सिटी सफारी र चालकलाई आफ्नै वतन (घर) बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति:
* नाम/उमेर: ५५ वर्षीय अर्जुन भगत
* ठेगाना: जिल्ला मोरङ, कटहरी गाउँपालिका वडा नं. २
नियन्त्रणमा लिइएका चालक अर्जुन भगत र सिटी सफारीलाई जिल्ला प्रहरी कार्यालय, मोरङमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक (सूचना अधिकारी) मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
