फायल फोटो
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ।
शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढीबाट प्रभावित जनसंख्याको प्रारम्भिक विवरण प्रस्तुत गरेका हुन्।
बागमती प्रदेश सरकार तथा मन्त्रालयका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित नागरिकको संख्या अनुमान गरिएको उनले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका व्यक्तिमध्ये २५ जनामा झाडापखाला देखिएको सचिव देवकोटाले बताए। यद्यपि झाडापखालाबाहेक अन्य गम्भीर प्रकृतिका महामारी वा रोगको संक्रमण हालसम्म नदेखिएको उनले स्पष्ट पारे।
जलवायु अनुकूल संरचनाको गुरुयोजना बन्दै
बाढीबाट स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पाठ सिकिएको भन्दै सचिव देवकोटाले आगामी दिनमा निर्माण हुने स्वास्थ्य संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए।
भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा विकास गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार अत्यधिक गर्मी हुने र चिसो हुने क्षेत्रका स्वास्थ्य संरचनाको डिजाइन तथा निर्माण शैली फरक हुनुपर्छ।
नयाँ संरचना निर्माण गर्दा विपद् वा स्वास्थ्य समस्या उत्पन्न भएको अवस्थामा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य संस्थाको अवस्थालाई समेत आधार बनाउनुपर्ने उनले बताए।
मन्त्रालयले पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जलवायु अनुकूल संरचनासहितको गुरुयोजना तयार गरिरहेको र गुरुयोजना पूरा भएपछि संसदीय समितिमा पेस गर्ने सचिव देवकोटाले जानकारी दिए।
