राजविराज । भिडियो एक्सरे गराउने पैसा नहुँदा सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेटै अगाडि एक महिलाले सन्तानलाई जन्म दिएकी छन्।
राजविराज नगरपालिका-१४ निवासी २७ वर्षीया बबिता कुमारी पासवानले अस्पतालको २४ नम्बर बेड छोडेर बाहिरिने क्रममा अस्पतालको गेट अगाडि नै छोरालाई जन्म दिएकी हुन्।
पारिवारिक स्रोतका अनुसार, हिजो बेलुका करिब २ बजे बबितालाई व्यथा लागेपछि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनलाई २४ नम्बर बेड उपलब्ध गराई भर्ना पूर्जा समेत काटेको थियो। तर, उपचारका क्रममा चिकित्सकले तत्काल भिडियो एक्सरे गर्नुपर्ने बताएका थिए।
बबितासँग भिडियो एक्सरे गराउनका लागि पर्याप्त रकम थिएन। उनीसँग जम्मा १२ सय रुपैयाँ मात्र भएकाले एक्सरे गराउन नसकिने भएपछि उनले भर्ना गरिएको बेड र पूर्जा छोडेर अस्पतालबाट बाहिरिने निर्णय गरेकी थिइन्। अस्पतालको गेट नजिकै पुग्दा अत्यधिक व्यथा (लेबर पेन) बढेपछि उनले गेटै अगाडि बच्चा जन्माएकी हुन्।
बबिताका यसअघि १० वर्ष, ८ वर्ष र ५ वर्षका तीन छोरीहरू छन्। चौथो सन्तानका रूपमा उनले छोरालाई जन्म दिएकी हुन्।
उनका श्रीमान् हरेराम पासवान ज्याला-मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका छन्। आर्थिक अभावका कारण प्रसूति सेवाका लागि आवश्यक खर्च जुटाउन नसक्दा अस्पताल परिसरमै सन्तान जन्माउनुपर्ने बाध्यता आइपरेको हो। पासवानले आफूहरुसँग पैसा नभएकै कारण नै बाहिर निस्किएको बताएका छन् ।
अस्पतालका निमित्त मेसु जितेन्द्र कँडेलले बिरामी भर्ना भएको तर भिडियो एक्सरे गराउन भनिएपछि एकाएक हराएको र बाहिर नै बच्चा जन्मिएको भन्ने पछि थाहा भएको बताए ।
घटनापछि स्थानीयले सरकारी अस्पतालमा प्रसूति गराउन आउने गरिब तथा विपन्न परिवारका लागि निःशुल्क तथा सर्वसुलभ सेवा व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन्।
