सोलुखुम्बु । ‘एभरेस्ट भ्यु ट्रेल रेस’ले अन्तरराष्ट्रिय मान्यता पाएको छ ।
सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको उक्त रेसले मान्यता पाएको हो । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको यो साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिकता पाएको हो ।
अन्तरराष्ट्रिय ट्रेल धावक सङ्घले यस दौडलाई तीन अङ्क प्रदान गरेको छ । मान्यता प्राप्त दौड पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाइका आधारमा अङ्क पाउँछन्, जसले विश्वप्रसिद्ध अन्य ठूला अन्तरराष्ट्रिय दौडमा छनोट हुन सहयोग पु¥याउँछ ।
नेपालमा आयोजना हुने मञ्जुश्री, सिन्धुपाल्चोक र रनउकु जस्ता दौड प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन् । अन्तरराष्ट्रिय आधिकारिकता प्राप्तपछि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताउनुभएको छ ।
यसबाट स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु पु¥याउन सहज हुने विश्वास लिइएको छ । करिब ४८ किलोमिटर लामो यो दौडको उचाइ दुई हजार ९१४ मिटर रहेको छ । दौड पूरा गर्नका लागि अधिकतम ७ घण्टा ४५ मिनेटको समय सीमा निर्धारण गरिएको छ ।
भौगोलिक रूपमा चुनौतीपूर्ण मानिएको यो दौडले धावकको सहनशीलता र क्षमताको वास्तविक परीक्षा लिनेछ । दौडको सुरुआत समुद्री सतहबाट एक हजार ८०३ मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रङ्गशालाबाट महभीरतर्फ अघि बढ्नेछ ।
महभीर नेपालकै उत्कृष्ट चट्टान आरोहण र डोरीको सहारामा ओर्लिने गन्तव्यका रूपमा परिचित छ । सिलगुडी पुगेर धावकले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा नुम्बुर, थामसेर्कु र मेरा पिकजस्ता हिमशिखरको दृश्यावलोकन गर्न पाउनेछन् ।
दौडको सबैभन्दा उच्च बिन्दु तीन हजार १८१ मिटरमा रहेको कुधम उच्च शिविर हो, जहाँ यात्राका क्रममा धावकले मनमोहक ब्लास झरनाको समेत अनुभव गर्नेछन् ।
ट्रेलको मुख्य धार्मिक स्थल कैलाशनाथ महादेव मन्दिर हो, जहाँ पौराणिक मान्यताअनुसार हलेसीबाट फर्कने क्रममा भगवान् महादेवले विश्राम गरेको जनविश्वास छ । कैलाशनाथ हुँदै दौड पुनः कोर्कु रङ्गशालामा पुगेर समापन हुनेछ ।
–––
