






विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ ।
आइतबार (आज) स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो । गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ मा सहभागी भइ जिग्सन तामाङले गोल्ड मेडल प्राप्त गरेका थिए ।
कक्षा ७ मा अध्ययनरत तामाङले ब्वाइजतर्फ ५० मिटर फ्री स्टाइल (एल.सी) मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल्ड मेडल प्राप्त गरेका थिए । उनलाई विद्यालयले नगद १० हजारसहित सम्मान गरेको हो । उनले ५० मिटर दुरी ००.३२.७६ मिनेटमा पुरा गरेका थिए । यस्तै एभरेष्टकै कक्षा ९ की छात्रा साक्षम बस्नेतलाई राष्ट्रिय स्तरको टेबल टेनिस डबल्स प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएकोमा सम्मान गरिएको छ ।
उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले बताइन् । दुबै जनालाई विद्यालयका प्राचार्य टिकाराम पुरीले खादा, टीका र नगद पुरस्कार प्रदान गर्दै सम्मान गरे । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य पुरीले यस्ता उपलब्धि हासिल गर्ने विद्यार्थी एउटा विद्यालयको मात्र नभई देशकै गहनाको रुपमा स्थापित हुने बताए ।
उनले अध्ययनका साथसाथै आफ्ना रुचि अनुसारका कृयाकलापमा पनि मेहनत गर्न सक्ने ब्यक्ति सफल हुने समेत बताउनुभयो । उहाँले विजयी खेलाडीहरुलाई हौसला प्रदान गर्दै भने, ‘यो उपलब्धिले खेलाडी विद्यार्थीको मात्रै हैन एभरेष्टको समेत इज्जत बढेको अनुभूति हामीले गरेका छौं ।’