विराटनगर । देशका प्रमुख तथा साना नदीहरूमा आगामी तीन दिनसम्म जलसतह उल्लेखनीय रूपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदीहरूको बहाव बढ्ने र केही क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार सोमबार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव अहिले सतर्कता तहभन्दा तलै छ। तर, आगामी तीन दिनसम्म देशका अधिकांश नदीमा पानीको सतह बढ्ने पूर्वानुमान गरिएको छ।
जलाधारहरूमा पानीको बहाव उच्च हुने
कोशी जलाधार: सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा आगामी तीन दिन जलसतह उल्लेखनीय रूपमा बढ्नेछ।
नारायणी जलाधार: नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि बहाव उच्च हुनेछ।
कर्णाली तथा महाकाली जलाधार: कर्णाली, भेरी, पश्चिम सेती र महाकाली नदीमा पनि तीनै दिन जलसतह उल्लेख्य रूपमा बढ्नेछ भने कन्काई नदीमा समेत बहाव बढ्नेछ।
सामान्य वृद्धि: कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने आगामी तीन दिन सामान्य रूपमा बहाव बढ्ने अनुमान गरिएको छ।
साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
सोमबार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्ला भएर बहने साना नदीहरूमा बहाव उच्च हुने देखिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पहाडी तथा आसपासका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
मंगलबार र बुधबार समेत सातै प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।
