विराटनगर । मोरङको रङ्गेली नगरपालिका–५ धनापट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट ५ हजार क्याप्सुल प्रतिबन्धित लागुऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिले बोकेको झोलाभित्र कस्मेटिक सामानमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो।
सशस्त्र प्रहरी बल नेपाल, बिओपी धनापट्टीको टोलीले मन्दिरको तर्फबाट टाउकोमा झोला बोकेर नेपाल प्रवेश गरिरहेका ती व्यक्तिलाई शंकास्पद देखेर नियन्त्रणमा लिन खोजेको थियो। तर, सशस्त्र प्रहरीलाई देखेपछि ती व्यक्ति झोला छाडेर भारततर्फ नै फरार भएका थिए। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार फरार व्यक्तिले छाडेर गएको झोला जाँच गर्दा २५ सय क्लेरियो र २५ सय ट्रामाडोल गरी कुल ५ हजार क्याप्सुल लागुऔषध फेला परेको हो।
बरामद गरिएको लागुऔषध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटना, ओसारपसारमा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन भने झोला छाडेर फरार भएका व्यक्तिको खोजी कार्य जारी रहेको छ।
