विराटनगर, श्रावण १७ । नेपाल अग्रवाल युवा मञ्च, विराटनगरको २०औँ पदस्थापन तथा शपथग्रहण समारोह शुक्रबार विराटनगरस्थित स्वागतम् होटलमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि नेपाल राष्ट्रिय मारवाडी संगठनका केन्द्रीय उपाध्यक्ष भिक्कमचन्द सरल रहनुभएको थियो। कार्यक्रममा नेपाल अग्रवाल सभा, विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल तथा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
समारोहमार्फत नेपाल अग्रवाल युवा मञ्च, विराटनगरको २०औँ कार्यसमितिको पदस्थापन गरिएको हो। नवगठित कार्यसमितिमा अंकुर कानोडिया अध्यक्ष, चेतन अग्रवाल निवर्तमान अध्यक्ष (IPP), रवि अग्रवाल प्रथम उपाध्यक्ष, साहिल अग्रवाल द्वितीय उपाध्यक्ष, हिमांशु अग्रवाल महासचिव, सुजल अग्रवाल र गगन तोडी सचिव, रोनक अग्रवाल कोषाध्यक्ष तथा नमन चिरानिया सह–कोषाध्यक्षका रूपमा पदस्थापन गरिएको छ।

कार्यक्रमका क्रममा समाजप्रति लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदर गर्दै बाबुलाल सेन लाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। समाजका हरेक परिवारसम्म आत्मीयतापूर्वक निमन्त्रणा पुर्याई विभिन्न सामाजिक कार्यक्रमलाई सफल बनाउन उहाँले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले युवा शक्तिलाई सामाजिक सेवा, नेतृत्व विकास, एकता र समाज रूपान्तरणका कार्यमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। नवनिर्वाचित अध्यक्ष अंकुर कानोडिया ले आफ्नो कार्यकालमा सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, सांस्कृतिक संरक्षण, युवा नेतृत्व विकास तथा समाजलाई थप एकताबद्ध बनाउने उद्देश्यका साथ विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा समाजका अग्रज, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा सदस्य, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति नेपाल अग्रवाल युवा मञ्च, विराटनगरले आभार व्यक्त गरेको छ।
