विराटनगर| शुक्रबार केही युवाले प्रदर्शन गर्ने प्रयास गरे पनि प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएपछि विराटनगरको अवस्था अहिले सामान्य बन्दै गएको छ।
प्रहरीको सक्रियतापछि प्रदर्शनकारीहरू त्यहाँबाट हटेका छन् भने बजार क्षेत्र शान्त रहेको छ। बिस्तारै पसल तथा व्यवसायहरू खुल्न थालेका छन् र सर्वसाधारण पनि दैनिक कामकाजमा फर्किन थालेका छन्। यातायात, व्यापार–व्यवसाय तथा जनजीवन क्रमशः नियमित बन्दै गएको देखिएको छ।
मोरङ प्रशासनले ड्रोनबाट बिराटनगरको आन्दोलनलाइ निगरानी गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको । जिल्ला प्रहरी प्रशासनले नागरिकलाई कुनै पनि अफवाहमा नलाग्न, संयम अपनाउन तथा शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। साथै, आ–आफ्नो दैनिक कामकाजलाई नियमित रूपमा अघि बढाउन पनि सबैमा अनुरोध गरिएको छ।
हाल विराटनगरमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ भने बजार क्षेत्रको अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ।
