विराटनगर । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक तनाव र त्यसपछिको घटनापछि सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले शुक्रबार विराटनगरमा सर्वसमुदायको सहभागितामा सद्भाव र्याली निकालिएको छ।
र्याली विराटनगरको महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय (क) हुँदै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि रहेको डाँफे चोकसम्म पुग्ने कार्यक्रम रहेको छ।
र्यालीमा विभिन्न राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, युवा, विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिको पक्षमा ऐक्यबद्धता जनाउँदै र्यालीमा सहभागिता जनाएका थिए।
यसअघि बिहीबार उद्योग संगठन मोरङमा विभिन्न जातजाति तथा धार्मिक समुदायका अगुवाहरूको बैठक बसेको थियो। उक्त बैठकले देवानगञ्ज घटनापछि समाजमा सद्भाव, भाइचारा र आपसी विश्वास कायम राख्न सर्वसमुदायको सहभागितामा शुक्रबार सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि र्यालीमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी, युवा, व्यापारी, विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा आम नागरिकलाई सहभागी हुन आग्रह गरेको थियो।
सुनसरीको देवानगञ्जमा केही दिनअघि दुई समुदायबीच भएको झडप र त्यसपछि उत्पन्न तनावले कोशी प्रदेशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको थियो। त्यसैको पृष्ठभूमिमा विराटनगरमा आयोजित सद्भाव र्यालीमार्फत शान्ति, सामाजिक एकता र आपसी सद्भाव कायम राख्ने सन्देश प्रवाह गरिएको छ ।
