Premier Cables
Premier Steel

अर्थ

मोरङ उद्योग व्यापार संघ आईसीसीको सदस्य, अन्तर्राष्ट्रिय व्यापारमा पहुँच विस्तार

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | अपराह्न २:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपालकै पहिलो उद्योग वाणिज्य संस्थाका रूपमा परिचित मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको व्यापारिक सञ्जाल इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) ले संघलाई औपचारिक सदस्यता प्रदान गरेसँगै नेपाली निजी क्षेत्रका लागि विश्वव्यापी व्यापारिक अवसरको नयाँ ढोका खुलेको छ।

आईसीसी विश्वका एक सयभन्दा बढी देशका उद्योग वाणिज्य संघ, व्यवसायिक संस्था तथा करोडौँ उद्यम–व्यवसायको प्रतिनिधित्व गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था हो। यसको सदस्य बनेसँगै मोरङ उद्योग व्यापार संघ अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा नीति निर्माणसम्बन्धी विश्वव्यापी सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

बिज्ञापन

संघका अध्यक्ष अनुपम राठीका अनुसार सन् २०२५ देखि आईसीसीको सदस्यता प्राप्त भएपछि नेपाली उद्योगी–व्यवसायीले संघमार्फत आईसीसीका विभिन्न सेवा, सुविधा र अवसरहरूको लाभ लिन सक्नेछन्। उनले यस उपलब्धिले नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार अब अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्ति अधिकार, डिजिटल अर्थतन्त्रलगायतका विषयमा हुने विश्वस्तरीय छलफल, अन्तरक्रिया तथा नीति निर्माण प्रक्रियामा नेपाली निजी क्षेत्रको सहभागिता सुनिश्चित हुनेछ। साथै, नेपाली उद्योगी–व्यवसायीका सुझाव र धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सहज हुने उनले बताए।

आईसीसीअन्तर्गत सञ्चालन हुने एटीए कार्नेट प्रणाली समेत अब संघमार्फत उपयोग गर्न सकिने भएको छ। यस प्रणालीले अस्थायी आयात–निर्यात प्रक्रियालाई सहज बनाउनेछ। साथै, निर्यातकर्ताले आवश्यक प्रमाणपत्र, व्यवसायिक सिफारिस तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी विभिन्न कागजात संघबाट प्राप्त गर्न सक्ने व्यवस्था पनि हुनेछ।

संघले आफ्ना सदस्य प्रतिष्ठानलाई विश्वका एक सयभन्दा बढी देशका चेम्बर तथा व्यवसायिक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउने, अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक बैठक, प्रतिनिधिमण्डल आदानप्रदान तथा ‘बी–टु–बी’ म्याचमेकिङ कार्यक्रममा सहभागी गराउने जनाएको छ।

त्यसैगरी, आईसीसीअन्तर्गत रहेको वल्र्ड चेम्बर्स फेडरेशन का मेन्टरशिप कार्यक्रम, क्षमता अभिवृद्धि तालिम, कार्यशाला, सेमिनार, वेबिनार तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रमहरूमा पनि संघका सदस्यहरूले सहभागिता जनाउन सक्नेछन्। आईसीसीबाट प्रकाशित अनुसन्धान प्रतिवेदन, व्यापारिक अध्ययन सामग्री तथा अन्तर्राष्ट्रिय बजारसम्बन्धी जानकारीले विशेषगरी साना तथा मझौला उद्योगलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको मध्यस्थता तथा विवाद समाधान सेवासमेत नेपाली व्यवसायीले उपयोग गर्न सक्ने अध्यक्ष राठीले बताए। उनका अनुसार यस सदस्यताले नेपाली उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण तथा विश्व बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्वलाई थप सुदृढ बनाउनेछ।

अध्यक्ष राठीले आईसीसीको सदस्यता मोरङ उद्योग व्यापार संघका लागि मात्र नभई समग्र नेपाली उद्योग तथा व्यवसाय क्षेत्रकै ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रियामा सहयोग पुर्‍याउने तथा सुरक्षित र दिगो व्यवसायिक वातावरण निर्माणमा संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa