विराटनगर । सुनसरी प्रहरीले सप्तकोशी नदीमा तैरिरहेको अवस्थामा ३०८ किलो गाँजा बरामद गरेको छ। नदीमार्फत भारततर्फ तस्करी गर्ने उद्देश्यले गाँजा पठाइएको हुन सक्ने प्रारम्भिक अनुमान गर्दै प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान करिब १ः३० बजे कोशी गाउँपालिका–७ अन्तर्गत केराबारी र भण्टाबारीबीचको सप्तकोशी नदीको बाँध क्षेत्रमा नियमित गस्तीका क्रममा संयुक्त प्रहरी टोलीले नदीमा तैरिरहेका आठ वटा कालो प्लास्टिकले बेरिएका शंकास्पद पोका फेला पारेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले ती पोका नियन्त्रणमा लिएर जाँच गर्दा ठूलो परिमाणमा गाँजा रहेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ३०८ किलो रहेको छ। बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा सुरक्षित राखिएको उनले बताए।
सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवेले गाँजा नदीमार्फत भारततर्फ तस्करी गर्ने उद्देश्यले पठाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। उनका अनुसार गाँजा कसले, कहाँबाट र कुन माध्यमबाट नदीमा ल्यायो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
नेपाल–भारत खुला सीमाका कारण पछिल्ला वर्षहरूमा नदी मार्ग प्रयोग गरेर लागूऔषध ओसारपसार गर्ने प्रयास बढ्दै गएको प्रहरीको निष्कर्ष छ। विशेषगरी सप्तकोशी नदी क्षेत्र तस्करहरूले प्रयोग गर्न सक्ने सम्भावित मार्गका रूपमा चिनिँदै आएकाले यस क्षेत्रमा सुरक्षा निगरानी नियमित रूपमा कडा पारिने गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजाको स्रोत, यसको ढुवानीमा संलग्न सञ्जाल तथा भारततर्फ लैजान खोजिएको उद्देश्यबारे अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि सीमावर्ती क्षेत्र तथा सम्भावित मार्गहरूमा निगरानीसमेत थप कडा पारिएको प्रहरीले जनाएको छ।


