तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको केही दिन लामो भव्य अन्त्येष्टि समारोहको तयारी भइरहेको छ।
गत फेब्रुअरी २८ मा इजरायली हवाई आक्रमणमा परी मारिएका ८६ वर्षीय खामेनीको अन्त्येष्टिमा करिब २ करोड मानिस सहभागी हुने अनुमान गरिएको छ। यदि यो अनुमान मिलेमा यो इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक हुनेछ।
खामेनीको अन्त्येष्टिको तयारी चलिरहँदा इरानको अर्धसैनिक बल ‘इस्लामिक रिभोलुसनरी गार्ड’ (आईआरजीसी) का शक्तिशाली जनरल अहमद वहिदी लामो समयको अज्ञातवासपछि सार्वजनिक रूपमा देखा परेका छन्। इरान युद्ध सुरु हुनुभन्दा केही साताअघि (गत फेब्रुअरी ८) देखि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्।
सरकारी सञ्चारमाध्यमका अनुसार जनरल वहिदी तेहरानस्थित सर्वोच्च नेताको कम्पाउन्डमा आयोजित अन्त्येष्टि व्यवस्थापनको बैठक र धार्मिक शोक सभामा खामेनीको कफिनको छेउमा बसेका देखिएका छन्। उनी इजरायली आक्रमणमा घाइते भएका इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीसँग सीधा सम्पर्कमा रहेका सीमित उच्च अधिकारीहरूमध्ये एक हुन्।
तेहरानको ‘ग्रान्ड मोसल्ला’ मा सुरक्षाकर्मीहरूले खामेनी र उनका मारिएका परिवारका सदस्यहरू (जसमा उनकी १४ महिनाकी नातिनी जहरा पनि सामेल छिन्) को कफिन पुर्याएका छन्। धार्मिक नेताहरूले कफिनको परिक्रमा गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
खामेनीको कफिनलाई इराकको कर्बलास्थित इमाम हुसेनको मजारबाट ल्याइएको रातो झण्डाले ढाकिएको छ। यो झण्डालाई इरानी संस्कृतिमा अन्यायपूर्वक मारिएका व्यक्तिको बगेको रगत र ‘बदलाको आह्वान’ को प्रतीक मानिन्छ।
इतिहासकै ठूलो अन्त्येष्टि यात्राको योजना
शनिबारदेखि सुरु हुने केही दिन लामो अन्त्येष्टि यात्राका क्रममा खामेनीको पार्थिव शरीरलाई इरानका विभिन्न सहरहरू र छिमेकी देश इराकमा समेत लगिनेछ। इरानी अधिकारीहरूले जुलाई ४ र ५ मा तेहरानमा दुई दिने सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम तय गरेका छन्। दशकौँसम्म इरानमा शासन गरेका खामेनीको बिदाइका लागि तेहरानका सडक, हवाई क्षेत्र र दैनिक जीवन ठप्प पार्ने योजना बनाइएको छ।
यसअघि सन् १९८९ मा इरानका ऐतिहासिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा इरानको कुल जनसङ्ख्याको छैटौँ हिस्सा (करिब १ करोड २ लाख मानिस) सडकमा उत्रिएका थिए, जुन गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार इतिहासकै ठूलो अन्त्येष्टि भीड थियो। यस पटकको जमघटले सो रेकर्ड पनि तोड्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गर्दै खामेनीको निधनप्रति समवेदना व्यक्त गरेको इरानी सरकारले जनाएको छ।


