काठमाडौं । चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ। नकआउट चरणमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि जर्मनीको प्रतियोगितायात्रा समाप्त भएको हो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि भएको अतिरिक्त ३० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टी सुटआउटमा दुवै टोलीका दुई–दुई खेलाडीले प्रहार खेर फाले। जर्मनीका काई हार्भेज र निक वेटेमेड गोल गर्न असफल भए भने पाराग्वेका फाबियन फलुबेना र एन्टोनियो सानाबिराले पनि पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्।
सुटआउट ३–३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा जर्मनीका जोनाथन ताहले पेनाल्टी गुमाए। त्यसपछि पाराग्वेका जोस क्यानलेले निर्णायक गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए।
यस जितसँगै पाराग्वेले दुई दशकपछि विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ भने जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ।


