काठमाडौं । स्पेनले पोर्चुगलमाथि कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलासस्थित स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो।
स्पेनको जितमा मिकेल मेरिनो नायक बने। उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। मेरिनोको त्यो गोल नै खेलको एकमात्र तथा विजयी गोल बन्यो।
खेलभर स्पेनले बल नियन्त्रण, अवसर सिर्जना र सट प्रहारमा पोर्चुगलमाथि स्पष्ट दबाब बनाएको थियो। पोर्चुगलले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
यस हारसँगै सन् २०२२ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको पोर्चुगल यसपटक भने अन्तिम १६ मै रोकिएको छ।
यता, स्पेनले भने १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुनः स्थान बनाएको हो। सन् २०१० मा विश्व च्याम्पियन बनेपछि स्पेन पहिलो पटक विश्वकपको अन्तिम आठमा पुगेको हो।


