विराटनगर । भारतको बिहार राज्यमा चर्चित बनेको ‘कोचिङ सेन्टर गोलीकाण्ड’का मुख्य आरोपितमध्ये एक युवक विराटनगरमा मृत अवस्थामा फेला परेका छन्। घटनापछि नेपाल प्रहरीले उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
मृतक २४ वर्षीय भारतीय नागरिक प्रिन्स यादव (प्रिन्स आनन्द) रहेको मोरङ प्रहरीले जनाएको छ। उनी गत जुन २ मा बिहारको राजधानी पटना स्थित ‘खान ग्लोबल स्टडीज’मा भएको गोलीकाण्डका आरोपितमध्ये एक थिए। उक्त शिक्षण संस्थाका सञ्चालक तथा ‘खान सर’ नामले परिचित फैजल खानले घटनापछि प्रिन्ससहित केही व्यक्तिविरुद्ध जाहेरी दिएका थिए।
प्रहरी स्रोतका अनुसार प्रिन्स यादव पटना स्थित ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका कान्छा भाइ हुन्। गोलीकाण्डपछि भारतीय प्रहरीको खोजीमा रहेका उनी केही दिनअघि साथीहरूसँग विराटनगर आएका थिए।
मोरङ प्रहरीका अनुसार यादव जेठ २० गते नेपाल प्रवेश गरेका थिए। सुरुमा उनीहरू विराटनगरस्थित मेट्रो होटलमा दुई दिन बसेका थिए भने त्यसपछि विराटनगर–१० को शुभ होटलमा सरेका थिए।
शनिबार राति करिब १०ः५५ बजे यादव अचेत अवस्थामा भएपछि उनका साथीहरूले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याएका थिए। अस्पताल प्रशासनका अनुसार उनलाई अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो।
प्रहरीका अनुसार मृतकको एउटा आँखाको डिलमा सामान्य चोट देखिए पनि शरीरमा अन्य कुनै गम्भीर चोटपटक भेटिएको छैन। तर घटनाको पृष्ठभूमि र परिस्थितिलाई हेर्दा मृत्यु शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ।
घटनासँग सम्बन्धित भन्दै प्रहरीले बिहारको सहरसा जिल्लाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कबित कटवालका अनुसार शवको पोस्टमार्टम सम्पन्न गरी परिवारलाई जिम्मा लगाइएको छ। उनले मृत्युको वास्तविक कारण खुल्न पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानको निष्कर्ष पर्खनुपर्ने बताए।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘खान सर’ नामले परिचित फैजल खान र ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दबीच विगतदेखि व्यावसायिक प्रतिस्पर्धा तथा विवाद रहँदै आएको थियो। एक समय उनीहरू एउटै क्षेत्रमा अध्यापनसँग आबद्ध रहेको बताइन्छ।
गत जुन २ मा पटना स्थित खान ग्लोबल स्टडीजमा भएको आक्रमणमा ज्ञानबिन्दु एकेडेमीसँग सम्बद्ध समूहको संलग्नता रहेको आरोप छ। घटनाका क्रममा खान ग्लोबल स्टडीजका सुरक्षाकर्मीबाट समेत गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त घटनापछि बिहार प्रहरीले फैजल खानलाई समेत पक्राउ गर्ने प्रयास गरेको थियो। तर अदालतले उनको गिरफ्तारीमा अस्थायी रोक लगाएको छ। यता ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्द भने हाल भारतीय प्रहरी हिरासतमै रहेका छन्।
विराटनगरमा प्रिन्स यादवको रहस्यमय मृत्यु भएपछि भारतीय गोलीकाण्डसँग यसको कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित भएको प्रहरीले जनाएको छ।
