विराटनगर । झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र शव फेला परेकी २१ वर्षीया रमा तिवारीको हत्या उनकै प्रेमीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
दुई दिनअघि दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोरामा पोको पारिएको अवस्थामा तिवारीको शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका युवक र मृतकबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका युवक लागूऔषध प्रयोगकर्ता हुन्। उनी दमकस्थित एक सुधार केन्द्रमा बस्दै आएका थिए। जेठ १३ गते सुधार केन्द्रबाट बाहिरिएपछि रमा तिवारीको हत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। यद्यपि, पक्राउ परेका व्यक्तिको नाम र अन्य विवरण भने अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरिएको छैन।
हत्या कसरी गरियो, शवलाई बोरामा हालेर रतुवा खोलासम्म कसरी पुर्याइयो तथा घटनामा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।
