काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार पाँच अंक बढेको छ । बिहीबार र शुक्रबार (जेठ १४ र १५) गते सार्वजनिक बिदा परेसँगै बुधबार (जेठ १३) साताको अन्तिम कारोबारमा बजार ४.९९ अंक बढेको हो ।
यो आर्थिक वर्ष २०८३/८४ बजेटअघिको अन्तिम कारोबार हो । शुक्रबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका छ ।
यसदिन १५१ कम्पनीको सेयर मूल्य बढेको छ । १०५ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनी स्थिर रहे ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । बुधबारको कारोबारमा ६ अर्ब तीन करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर ६० हजार ५६२ पटकमा किनबेच भएको छ ।
कालिञ्चोक हाइड्रो, बुंगल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ, आँखु खोला जलविद्युत्, माथिल्लो मैलुन खोला जलविद्युत् आयोजना उच्च कमाउने शीर्ष कम्पनीमा परेका छन् ।
समुहगत सूचकतर्फ फाइनान्स, होटेल एण्ट टुरिजम, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ र अदर इन्डेक्स घट्दा बाँकी समुहको बढेका छन् ।

