काठमाडौं । इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ का क्रममा अमेरिकाले ठूलो सैन्य क्षति बेहोरेको खुलासा भएको छ ।
अमेरिकी कङ्ग्रेसको रिपोर्टअनुसार युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट तथा ड्रोन नष्ट वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले युद्धमा हालसम्म करिब साढे ४ खर्ब रुपैयाँ बराबर खर्च भइसकेको जनाएको छ । क्षतिग्रस्त विमानमध्ये ६ वटा फाइटर तथा अट्याक जेट रहेका छन् । तीमध्ये एक एफ–३५, चार एफ–१५ई स्ट्राइक इगल र एक ए–१० थन्डरबोल्ट–२ रहेका छन् । अप्रिलको सुरुवातमै इरानले अमेरिकाको एउटा एफ–१५ई जेट खसालेको दाबी गरिएको थियो ।
युद्धमा सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको बताइएको छ । रिपोर्टअनुसार २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु–९ रिपर र एउटा एमक्यु–४सी ट्राइटन समावेश छन् । यसबाहेक ११ वटा अन्य सैन्य विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन् ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिका र इजरायलले इरानको परमाणु तथा क्षेप्यास्त्र क्षमता कमजोर पार्नुका साथै त्यहाँ सत्तापलट गराउने रणनीति पनि बनाएका थिए । योजनाअनुसार इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई नयाँ नेताका रूपमा अघि सार्ने तयारी गरिएको थियो ।
रिपोर्टमा युद्धको पहिलो दिन इजरायलले तेहरानस्थित अहमदिनेजादको घरनजिकै आक्रमण गरेको उल्लेख छ । उक्त कारबाहीको उद्देश्य उनलाई नजरबन्दबाट मुक्त गराउनु रहेको दाबी गरिएको छ । तर, उनी सुरक्षित रहेको जनाइएको छ । त्यसपछि अमेरिका र इजरायल सत्तापलटको योजनाबाट पछि हटेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टअनुसार सत्तापलटका लागि तीन चरणको रणनीति तय गरिएको थियो । पहिलो चरणमा निरन्तर हवाई आक्रमण, इरानका सर्वोच्च नेतामाथि निशाना र कुर्द लडाकुहरूलाई सक्रिय बनाउने योजना थियो । दोस्रो चरणमा इरानी सरकार नियन्त्रण गुमाइरहेको सन्देश दिन अराजकता र युद्धको वातावरण सिर्जना गर्ने रणनीति बनाइएको थियो । तेस्रो चरणमा पूर्वाधार ध्वस्त पार्ने, ग्यास तथा बिजुली आपूर्ति रोक्ने र राजनीतिक दबाब बढाएर अहमदिनेजादलाई सत्तामा ल्याउने योजना रहेको बताइएको छ ।
यसैबीच, अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०–४७ मतले पारित गरेको छ । चार जना रिपब्लिकन सांसदले पनि ट्रम्पविरुद्ध मतदान गरेका छन् । प्रस्ताव कानुन बनेमा इरानविरुद्ध थप सैन्य कारबाही अघि बढाउन ट्रम्पले कङ्ग्रेसको अनुमति लिनुपर्नेछ ।
उता, अमेरिकी कोस्टगार्ड एकेडेमीमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना लगभग समाप्त भइसकेको दाबी गरेका छन् । उनले अब इरान सम्झौतामा आउने वा अमेरिकाले कारबाहीलाई पूर्णता दिने अवस्थामात्र बाँकी रहेको बताएका छन् ।
