फायल फोटो
काठमाडौं । भारतबाट हावाहुरीसहित वर्षा गराउने बादल नेपालतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार भारतमा विकसित उक्त प्रणाली पश्चिमबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको छ र हाल कञ्चनपुर आसपास आइपुगेको छ।
मौसम पूर्वानुमान महाशाखाले बुधबारका लागि विशेष बुलेटिन जारी गर्दै तीव्र हावाहुरीको चेतावनी दिएको छ। विभागका अनुसार बुधबार अपराह्न ४ बजेदेखि बिहीबार बिहान ६ः४५ बजेसम्म तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ।
पुडासैनीका अनुसार भारतबाट आएको पश्चिमी प्रणाली र नेपालको पूर्वी भूभाग नजिक विकसित अर्को न्यूनचापीय प्रणाली एकआपसमा जुध्दा यस्तो मौसमी अवस्था बनेको हो। उनले हावाहुरीको गति २० देखि २५ मिटर प्रतिसेकेन्डसम्म पुग्न सक्ने र स्थानअनुसार यसको तीव्रता फरक हुने बताएका छन्।
महाशाखाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन, मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ आसपासका जिल्लामा हावाहुरीको जोखिम रहेको जनाएको छ।
मौसमविद्हरूले बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र मध्यम वर्षाको सम्भावना रहेको बताएका छन्। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
बुधबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा असिनासहित वर्षा हुन सक्ने बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीको समयमा घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न, कमजोर छाना भए सुरक्षित बनाउन, आगो बाल्दा सावधानी अपनाउन तथा अग्ला रूख, बिजुलीका पोल, तारमुनि वा कमजोर संरचनानजिक नबस्न आग्रह गरेको छ।
साथै, लत्रिएको बिजुलीको तार नछुन र हावाहुरीले उडाएर ल्याउने वस्तुबाट चोटपटक लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
