फायल फोटो
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन।
सभापति गगनकुमार थापाले सहमतिमै नेता चयन गर्ने प्रयास गरिरहेकाले प्रक्रिया लम्बिएको बताइएको छ।
जेष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा बैठक सञ्चालनको जिम्मेवारी सम्हाल्नुपरेकाले पनि ढिलाइ भएको हो। उनी २२ फागुनमा सभामुख चयनपछि मात्रै सो भूमिकाबाट मुक्त भएका थिए।
कांग्रेसले संसदीय दलको नेता चयनका लागि २४ चैतमा निर्वाचन गर्ने तयारी गर्दै सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को संयोजकत्वमा समिति गठन गरेको थियो। तर, उक्त मितिमा न निर्वाचन प्रक्रिया अघि बढाइयो, न समितिको औपचारिक घोषणा नै गरियो। सहमतिका लागि छलफल जारी रहेकाले कार्यक्रम स्थगित गरिएको स्रोतको भनाइ छ।
दलभित्र सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको भए पनि त्यसले प्रक्रिया झन् ढिलो बनाएको छ। सभापति थापा सर्वसम्मतिमा नेता चयन गर्न चाहन्छन्, तर त्यसका लागि आवश्यक सहमति जुट्न सकेको छैन।
अर्जुननरसिंह केसी स्वयं पनि दलको नेताका आकांक्षी हुन्। उनी सर्वसम्मत भए मात्र नेतृत्व स्वीकार गर्ने, अन्यथा प्रतिस्पर्धामा उत्रने संकेत दिएका छन्। केही सांसदहरूको समर्थनका कारण उनको दाबी बलियो बन्दै गएको छ।
यता, सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा भने केसीलाई नेता बनाउन इच्छुक नरहेको बताइन्छ। थापाले मोहन आचार्यलाई अगाडि सार्न चाहेको चर्चा छ, तर उनको पक्षमा सहमति जुट्ने सम्भावना कमजोर देखिन्छ।
पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबीचको आन्तरिक समीकरणले पनि प्रक्रिया प्रभावित भएको छ। केही नेताहरूले केसीलाई अघि सारेर नेतृत्वलाई दबाब दिने प्रयास गरिरहेको संस्थापन पक्षको बुझाइ छ।
विगतमा कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न नसकेको इतिहासका कारण यसपटक पनि मतदानमार्फत् चयन हुने सम्भावना बढी देखिन्छ। २०७९ को निर्वाचनपछि पनि दलको नेता चयनका लागि मतदान भएको थियो।
हाल कांग्रेसका ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्ष बलियो देखिए पनि समानुपातिकतर्फ संस्थापनइतर समूहको प्रभाव बढी छ। यसले अन्तिम निर्णयमा मतदान हुने सम्भावनालाई अझ बलियो बनाएको नेताहरूको आकलन छ।
