विराटनगर । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विषयलाई प्रतिनिधि सभाको बैठकमा उठाउने निर्णय गरेको छ।
मंगलबार बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले संसदमा उक्त विषयमा कडा विरोध जनाइने जानकारी दिए। संघीय संसदको बैठक चैत १९ गतेका लागि तय गरिएको छ।
एमालेले ओलीको पक्राउविरुद्ध सडक आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ। पार्टीले ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा कदम चालेको आरोप लगाउँदै एमालेले यसको कानुनी र राजनीतिक रूपमा सामना गर्ने स्पष्ट पारेको छ।
शान्तिपूर्ण प्रदर्शनका क्रममा अत्यधिक बल प्रयोग गरिएको भन्दै पनि एमालेले आपत्ति जनाएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टी कार्यालयभित्रै प्रवेश गरी नेता–कार्यकर्तामाथि गरिएको आक्रमण र काठमाडौंमा भएको लाठीचार्जको बैठकले निन्दा गरेको छ। साथै घाइते नेता तथा कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
सचिवालय बैठकले सरकार गठनपछि सुरु भएका धरपकड र दमनका गतिविधिले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर खतरा उत्पन्न भएको निष्कर्ष निकालेको छ। महासचिव पोखरेलका अनुसार सरकार जनादेश विपरीत द्वन्द्वतर्फ उन्मुख भइरहेको र यसले लोकतान्त्रिक प्रणालीलाई क्षति पुर्याउने चेतावनी दिइएको छ। साथै एमालेले सबै राजनीतिक दल, नागरिक समाज र संघ–संस्थालाई सरकारी दमनविरुद्ध एकजुट हुन आह्वान गरेको छ।
बैठकले आगामी वैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसलाई विविध कार्यक्रम, विचार गोष्ठी र अन्तरक्रियामार्फत भव्य रूपमा मनाउने निर्णय गरेको छ। साथै हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको राजनीतिक अवस्थाको समीक्षा गर्न र पार्टी संरचनालाई थप व्यवस्थित बनाउन छिट्टै केन्द्रीय कमिटी बैठक बोलाइने जनाइएको छ।
एमालेले ओली र रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ। मंगलबारको बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्णय गर्दै तत्कालै केन्द्रीय कमिटी बैठक बोलाउने जनाएको छ।
निर्धारित कार्यक्रमअनुसार चैत २५ गतेसम्म जिल्लास्तरमा बृहत् भेला आयोजना गरिनेछ। चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन हुनेछ भने वैशाख ३ गते वडा तहमा भेला गरिनेछ। त्यसपछि वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन आयोजना गर्ने एमालेको योजना रहेको छ।
