काठमाडौं । सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। जनमत पार्टीका अध्यक्ष राउतले भने संघर्षको राजनीति भने निरन्तर जारी रहने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय पदको राजनीतिबाट टाढा रहने तर राजनीतिक गतिविधिबाट अलग नहुने स्पष्ट पारेका छन्। उनले सिद्धान्त र एजेन्डालाई अगाडि बढाउँदै जनताको हितका लागि निरन्तर संघर्षमा रहने उल्लेख गरेका छन्।
राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएको दल हो। उक्त निर्वाचनमा पार्टी राष्ट्रिय दल बनेको थियो भने अध्यक्ष राउत आफैं प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। समानुपातिकतर्फ थ्रेसहोल्ड हटेपछि पार्टीले थप पाँच सांसद सिट पनि प्राप्त गरेको थियो।
तर २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा भने जनमत पार्टीले कुनै पनि सिट जित्न सकेन। सप्तरी–२बाट प्रतिस्पर्धा गरेका राउत रामजी यादवसँग पराजित भएका थिए। पार्टीका अन्य उम्मेदवारहरू पनि प्रत्यक्षतर्फ विजयी हुन सकेनन् भने समानुपातिकतर्फ पनि आवश्यक मत प्राप्त गर्न सकेनन्।
राउतले अब संसदीय राजनीतिबाट अलग रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार पार्ने काममा केन्द्रित हुने बताएका छन्। उनले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
यसका साथै आफू सधैं जनतामाझ रहने, विभिन्न आन्दोलन तथा संघर्षमा सहभागी हुने र अधिकार तथा पहिचानको मुद्दामा सक्रिय भूमिका खेलिरहने उनले बताएका छन्।
राउतले पार्टी अध्यक्ष बन्नु पनि आफ्नो व्यक्तिगत चाहना नभएर बाध्यता भएको दाबी गरेका छन्। उनले पार्टी गठनका क्रममा अन्य नेताहरूलाई अध्यक्ष बन्न आग्रह गरे पनि उनीहरूले अस्वीकार गरेपछि आफूले जिम्मेवारी लिनुपरेको बताएका छन्।
यसैगरी उनले आफ्नो इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै २०७९ को निर्वाचनमा विजयी भए पनि पछिल्लो निर्वाचनमा भने पराजित भएको बताएका छन्।
