काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले समानुपातिक उम्मेदवारको सूची टुंग्याएर आयोगमा पेश गरिने जानकारी दिए। उनले समानुपातिक सांसदहरूको नामावली तय गर्न तथा अन्य विषयमा छलफल गर्न आज पार्टीको बैठक बस्ने पनि बताए।
झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउने भएकाले आज हामी त्यो प्रक्रिया टुंग्याउँछौं।’
सरकार गठनका विषयमा भने केही संवैधानिक र व्यवहारिक प्रक्रिया बाँकी रहेकाले नयाँ सरकार बन्न अझै करिब १० दिन लाग्न सक्ने उनले बताए।
उनका अनुसार संसद् सचिवालयले आवश्यक तयारी गर्नुपर्ने, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन बाँकी रहेको तथा समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने प्रक्रिया समेत पूरा हुन बाँकी छ।
यी सबै प्रक्रिया विभिन्न निकायको जिम्मेवारीमा पर्ने भएकाले ठ्याक्कै समय तोकेर भन्न कठिन भए पनि करिब १० दिनभित्र नयाँ सरकार गठन हुन सक्ने अनुमान गरिएको उनले बताए।
