विराटनगर । कोसी प्रदेशमा पहिचानवादी दल चुनावबाट फेरि बढारिएका छन् । त्यो ठाउँ हर्क साम्पाङको श्रम संस्कृति पार्टीले लिएको छ ।
प्रतिनिधि सभाको पछिल्लो निर्वाचन परिणामले हर्कको दल कोशी प्रदेशमा उदाएको छ । हर्कले पहिचानको समेत मुद्दालाई अघि सारेकोले यसपटक उनको पार्टीमा मतदाताको रुझान देखिएको छ ।
कोसी प्रदेश सभाको २०७४ को निर्वाचनमा पहिचानवादी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना सदस्य निर्वाचित भएकी थिइन । तर, २०७९ मा प्रदेशमा निल गएको मञ्चका कुनैपनि उमेदवार यस पटक निर्वाचित हुन सकेनन् । तर, श्रम संस्कृति पार्टीका तीन जना उमेदवार प्रत्यक्षतर्फ निर्वाचित बने । प्राप्त समानुपातिक मत परिणामले समेत यो दल राष्ट्रिय हुने देखिएको छ ।
कोशी प्रदेशमा पुराना ठूला दलसँग टक्कर लिँदै श्रम संस्कृति उदाउँदा पहिचानवादी दल भने किनारामा पुगेका छन् । तर, पहिचानको बागडोर भने श्रम संस्कृतिको हातमा पुगेको छ ।
कोसी प्रदेशमा समानुपातिक मततर्फ श्रम संस्कृति पार्टी चोथौ ठूलो दल भएको छ । श्रम संस्कृतिले कोसी प्रदेशबाट मात्र २ लाख ८५ हजार १९ मत प्राप्त गरेको छ । यो दल नेपाली कम्युनिष्ट पार्टी भन्दा अगाडि छ । पहिचानको मुद्दा लिएर राजनीतिमा विगत डेढ दशकदेखि सक्रिय कुमार लिङ्देनको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशभर जम्मा ३ हजार ५१५ मतमात्र पाएको छ ।
निर्वाचन परिणामले मञ्चको प्रभाव क्षेत्र मानिएका जिल्लाहरुमा समेत श्रम संस्कृतिको जर्बजस्त उपस्थिति देखाएको छ । विभिन्न टुटफुटबाट गुज्रिएको मञ्च लामो समयदेखि उतिसाह्रो सक्रिय देखिएको थिएन । तर, त्यो रिक्ततालाई श्रम संस्कृतिले पूरा गरिदिएको छ ।
कोसी प्रदेशमा पहिचानकै मुद्दा लिएर राजनीति गरिहेको मितेरी पार्टी नेपालका महासचिव डिल्ली मिभकले श्रम संस्कृतिक फरक पार्टी भएपनि पहिचानको आन्दोलन जिउँदो छ भन्ने उसले प्राप्त गरेको जनमतबाट देखिएको बताउँछन् । ‘‘आन्दोलनको रिफ्लेक्सन अझै छ । मरेको छैन । आन्दोलनको रुपमा कुनै न कुनै कोणबाट आयो, लिम्बुवान, खम्बुवान वा श्रम संस्कृतिकै नाममा भएपनि मत आयो । क्रान्ति ज्यूँदो छ भन्ने बुझ्नु पर्दछ,’’ उनले भने ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम संस्कार र पहिचानको कुरालाई जोरजर्बस्त ढंगले उठाएका कारण राम्रो जनमत बटुल्न सकेको देखिएको मिभकले सुनाए ।
श्रम संस्कृति पार्टी पाँचथरमा समानुपातिक मत सबैभन्दा धेरै ल्याएर पहिलो नम्बरमा पुगेको छ । यो जिल्लामा पार्टीले १८ हजार ३६८ मत प्राप्त गरेको छ । भोजपुरमा पनि सबैभन्दा धेरै १६ हजार १५० मत प्राप्त गरेको छ । यो जिल्लामा श्रम संस्कृतिका उमेदवार ध्रुवराज राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् । उनले एमालेका सचिव शेरधन राईलाई पराजित गरे ।
यसैगरी दलले खोटाङमा पनि सबैभन्दा धेरै मत प्राप्त गरेको छ । यो जिल्लामा श्रम संस्कृतिले १८ हजार १३१ मत प्राप्त गरेको छ । यहाँ पनि प्रतिनिधि सभा सदस्यमा आरेन राई निर्वाचित बनेका छन् । उदयपुर २ मा दोस्रो नम्बरमा रहेको दलले १२ हजार २९६ मत प्राप्त गरेको छ ।
कोसी प्रदेशका तराई क्षेत्रका जिल्लामा समेत यो दलको राम्रो उपस्थिति देखिएको छ । सुनसरी १ मा पार्टी अध्यक्ष हर्क साम्पाङ निर्वाचित बनेका छन् । यो क्षेत्रमा समानुपातिकतर्फ ३२ हजार २३० मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले कोसीका पहाडी जिल्लामात्र नभएर पूर्वपश्चिम राजमार्ग आसपास र त्यसमुन्तिरका निर्वाचन क्षेत्रमा समेत राम्रो मत प्राप्त गरेको छ ।
झापा- ४५ हजार ३२५
मोरङ- ४४ हजार २०१
सुनसरी- ४५ हजार ६९४
उदयपुर- १७ हजार २८८
इलाम- २७ हजार २
पाँचथर- १८ हजार ३६८
ताप्लेजुङ- ६ हजार ६६४
तेह्रथुम- ८ हजार ६९८
संखुवासभा- १२ हजार ३९
सोलुखुम्बु- ६ हजार ८६८
खोटाङ- १८ हजार १३७
भोजपुर- १६ हजार १५०
ओखलढुंगा- ४ हजार ६२५
धनकुटा- १३ हजार ९६०
