विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाउने जनाएको छ। नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तर्क्रियामा सुरक्षा निकाय र निर्वाचन कार्यालयले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सुरक्षा तथा अनुगमन तीव्र पारिएको जानकारी दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुनेछ र त्यसको कडाइका साथ पालना गराइनेछ। यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन। सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा सिल गरिने पनि उनले बताए।
जिल्ला प्रहरी प्रमुख कविता कटवालले निर्वाचन सुरक्षाका लागि ७ हजार ८ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन्। निर्वाचनलाई असर पार्न सक्ने गतिविधि नियन्त्रण गर्न फागुन २० गते रातिदेखि सवारी आवागमनमा रोक लगाइनेछ। साथै, जिल्लाभर मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइने तथा इजाजतप्राप्त हतियार प्रशासनमा बुझाउन निर्देशन दिइएको छ।
उम्मेदवारको आर्थिक गतिविधि पारदर्शी बनाउन अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। आचारसंहिता अनुगमन अधिकृत टोमनाथ उप्रेतीका अनुसार सिफारिस लिएका ९० मध्ये ६० जना उम्मेदवारले हालसम्म बैंक खाता खोलिसकेका छन्। निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकमार्फत मात्रै गर्नुपर्ने प्रावधान कडाइका साथ लागू गरिने उनले स्पष्ट पारे।
निर्वाचन अवधिमा पर्ने होली र रमजान पर्वलाई आचारसंहिता विपरीत नहुने गरी घरभित्रै मर्यादित रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ। सञ्चारकर्मीका लागि मतगणना स्थलमा इन्टरनेटसहितको छुट्टै सूचना कक्षको व्यवस्था गरिने प्रतिबद्धता पनि जनाइएको छ।
प्रशासनले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै निर्वाचन सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
