खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा विवाह भोज खाएपछि बिरामी पर्नेहरूको संख्या बढ्दै गएको छ । माघ २१ गते आयोजित विवाह भोजमा सहभागी भएका बेहुला-बेहुलीसहित करिब डेढ सय जना स्थानीयवासी बिरामी परेका छन् ।
उपचारपछि धेरैजसो बिरामी निको भएर घर फर्किरहेका भए पनि नयाँ बिरामी थपिने क्रम अझै रोकिएको छैन । माघ २५ गते मात्र ४५ जना नयाँ बिरामी उपचारका लागि आएका जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले जानकारी दिइन् । कतिपय उपचारपछि घर फर्किएका बिरामीसमेत पुनः बिरामी भएर उपचारमा फर्किन थालेका छन् ।
बिरामीको संख्या अत्यधिक बढेपछि दिप्लुङकै निगालावास भञ्ज्याङस्थित दिलबहादुर राईको घरमा उपचार शिविर स्थापना गरिएको छ । गाउँपालिकाले माघ २३ गतेदेखि शिविर सञ्चालन गरी स्थानीयस्तरमै उपचारको व्यवस्था मिलाएको हो ।
बिरामीलाई राखेर उपचार गर्न पाल टाँगिएको छ । घरका कोठा, सिकुवा, आँगन र पेटीमा समेत ओछ्यान राखी उपचार गरिँदै आएको गाउँपालिका अध्यक्ष राईले बताइन् ।
अवस्था गम्भीर भएका सात जनालाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भर्ना गरी उपचार भइरहेको छ । गाउँपालिकाको एम्बुलेन्स, स्ट्रेचर तथा इलाका प्रहरी कार्यालय चिसापानी र स्वास्थ्य कार्यालय खोटाङका सवारी साधनमार्फत बिरामीलाई शिविरस्थल र स्वास्थ्य संस्थामा ओसारपसार गरिँदै आएको छ ।
बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङका कर्मचारी र जनप्रतिनिधिको टोली परिचालित गरिएको छ ।
विवाह भोज खाएका स्थानीयहरू माघ २२ गते साँझदेखि बिरामी पर्न थालेका थिए । भोज खाएको करिब १२ घण्टापछि ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने लक्षण देखिएको जनाइएको छ ।
बिरामीको चाप बढेपछि स्वास्थ्य कार्यालयबाट औषधिसहित थप स्वास्थ्यकर्मीसमेत मगाइएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । उनका अनुसार नयाँ बिरामी थपिँदै गए पनि अवस्था नियन्त्रणउन्मुख रहेको छ ।
गाउँपालिकाका अनुसार विवाह भोजमा सहभागी भएका प्रायः सबै स्थानीय बिरामी परेका छन् । साथै भोज खाएर फर्किएका उदयपुर, काठमाडौंलगायतका स्थानका पाहुनासमेत बिरामी परेको जानकारी आएको छ ।
भोज खाने क्रममा ‘फुड पोइजनिङ’ भएको आशंका गरिएको छ । हालसम्म बिरामीको यकिन संख्या सार्वजनिक भइसकेको छैन । प्रहरीका अनुसार सयभन्दा बढी स्थानीय बिरामी परेको अनुमान गरिएको छ ।
भोजका कारण बिरामी पर्नुको वास्तविक कारण पत्ता लगाउन प्रदेशस्तरबाट खाद्य नमुना (स्याम्पल) संकलनका लागि टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिए ।
