काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतविरुद्ध टी–२० विश्वकपको खेल नखेल्ने निर्णय दोहोर्याएका छन् ।
उनले यो निर्णय सोच–विचार गरेर लिइएको बताउँदै खेललाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले भने, ‘टी–२० विश्वकपका सन्दर्भमा हामीले स्पष्ट स्ट्यान्ड लिएका छौँ । हामी भारतविरुद्ध खेल्ने छैनौँ । खेलको मैदान राजनीति गर्ने ठाउँ होइन ।
खेलमा राजनीति घुसाउनु हुँदैन ।’
उनले बंगलादेशले लिएको निर्णयप्रति समर्थन जनाउँदै भने, ‘हामीले निकै सोचेर यो निर्णय गरेका हौँ । यस विषयमा बंगलादेशसँग पूर्ण रूपमा उभिनुपर्छ । यो अत्यन्तै उचित निर्णय हो ।’
गत महिना बंगलादेशले सुरक्षा कारण देखाउँदै भारतमा आयोजना हुने टी–२० विश्वकपका खेलहरू खेल्न अस्वीकार गरेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गरेको थियो ।
यस निर्णयप्रति प्रतिक्रिया जनाउँदै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले आईसीसीको कदमलाई ‘गलत’ भन्दै डबल स्ट्यान्डर्ड भएको आरोप लगाएका थिए ।
त्यसपछि, फेब्रुअरी १ मा पाकिस्तान सरकारले भारतविरुद्ध हुने टी–२० विश्वकपको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । उक्त खेल १५ फेब्रुअरी २०२६ मा तय गरिएको छ ।
सरकारले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको थियो, ‘इस्लामी गणराज्य पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी हुन स्वीकृति दिएको छ ।
तर १५ फेब्रुअरी, २०२६ मा भारतविरुद्ध तय गरिएको खेलमा पाकिस्तानको टिम मैदानमा उत्रने छैन ।’
