Premier Cables
Premier Steel

खेलकुद

टी-२० विश्वकप: पाकिस्तानद्वारा नेदरल्यान्ड्स तीन विकेटले पराजित

Calendar शनिबार, माघ २४, २०८२  | अपराह्न २:५७ बजे

काठमाडौं । नवौँ नम्बरका ब्याटर फहिम अस्रफको आक्रामक ब्याटिङको बलमा पाकिस्तानले आईसीसी ट्वान्टी-२० विश्वकप–२०२६ को पहिलो खेलमा नेदरल्यान्ड्सलाई तीन विकेटले पराजित गरेको छ।

शनिबार श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा सात विकेट गुमाएर भेट्टायो।

पाकिस्तानका ओपनर साहिबजादा फरहानले ३१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ४७ रन बनाए। अर्का ओपनर सैम अयुबले १३ बलमा चार चौका र एक छक्कासहित २४ रन जोडे। बाबर आजमले १५ र कप्तान सलमान अली आघाले १२ रनको योगदान दिए।

११ ओभरसम्म पाकिस्तान ९८–३ को सहज अवस्थामा थियो। तर, त्यसपछि लगातार विकेट खस्दा स्कोर ११४–७ मा सीमित हुन पुग्यो। कठिन परिस्थितिमा आएका फहिम अस्रफले ११ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २९ रन बनाइ टोलीलाई जितसम्म पुर्‍याए। उनका साथमा साहिन साह अफ्रिदी पाँच रनमा अविजित रहे।

नेदरल्यान्ड्सतर्फ आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए। लोगन भान विक, काइल क्लेइन र रोइलोफ भान डेर मेर्वेले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमै अलआउट हुँदै १४७ रनमा सीमित रह्यो। कप्तान स्कट एडवार्ड्सले २९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३७ रन बनाए। बास डे लिडेले २५ बलमा चार चौकासहित ३० रन जोडे।

ओपनर माइकल लेभिटले १५ बलमा तीन चौका र एक छक्कासहित २४ रन बनाए। कोलिन एकरमनले २०, आर्यन दत्तले १३ रन जोडे भने लोगन भान विक शून्यमा आउट भए।

पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए। अब्रार अहमेद, सैम अयुब र मोहम्मद नवाजले समान दुई–दुई विकेट लिए भने साहिन साह अफ्रिदीले एक विकेट लिए।

समूह ‘ए’मा रहेको पाकिस्तान र नेदरल्यान्ड्ससँगै नामिबिया, अमेरिका र भारत छन्। आजदेखि सुरु भएको प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्दै छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka