विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नं ४ का उमेदवार गुरुराज घिमिरेले कांग्रेसमा नेतृत्व परिवर्तन भइ रुपान्तरण सहित जनतामाझ आएको बताएका छन् ।
हाम्रो विराटनगर डटकमसंग कुराकानी गर्दै चुनावको माध्यमबाट जनताबाट अनुमोदित हुन नयाँ नेतृत्व सहित आएको बताए ।
घिमिरेले पुराना दलका नेतृत्वको कमजोरीका कारण जनतामा निराशा छाएको र नयाँ दलको उदय भएको भन्दै कुनैपनि दल आफैमा खराब नहुने बताए । उनले भने,”नेतृत्व खराब हुनसक्छ तर दल होइन । नयाँ दललाई पनि जनताबाट अनुमोदित हुने चुनौती छ ।
“घिमिरेले मोरङ निर्वाचन क्षेत्र ४ बहुआयामिक, बहुजातीय र बहुभाषिक भएको भन्दै आफूले अवसर पाए वास्तविक जनप्रतिनिधि भएर काम गर्ने बताए । उनले भने,”सर्वसाधारण र आम मतदाताबाट सकारात्मक सन्देश पाएको छु । पहिलो पटक चुनाव लड्दै छु, ४० वर्षदेखि सक्रिय छु । यसले काम गर्न सक्छ भन्ने जनताको विश्वास छ ।”
घिमिरेले केन्द्रीय तहमा जाने नेतृत्व र नेता जनताले पत्याएका हुनुपर्ने भन्दै परम्परागत रुपमा जस्तो कांग्रेसमा समस्या नभएको बताए । घिमिरेले भने,”गठबन्धन हुँदा कांग्रेसले अरु दललाई पनि जितायो यसपटक कांग्रेसले एकसय प्रत्यक्ष तर्फ जितेर समानुपातिक सहित बहुमत ल्याउने छ ।”
