काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले चाहेमा नयाँ दल दर्ता गर्न अवसर दिने भएको छ ।
गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष असन्तुष्ट बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय स्वीकार्य नहुने बताएका छन् ।
महतले भने, “आयोगले नियम–कानून र पार्टी विधानको धज्जी उडाएको छ । हामी यस निर्णयको विरोध गर्छौँ, यो हामीलाई मान्य छैन ।” उनले पार्टीको आगामी रणनीतिबारे छलफल गरेर निर्णय लिइने पनि बताए ।
निर्वाचन आयोगको शुक्रबार साँझ बसेको बैठकले गगन थापालाई आधिकारिक कांग्रेस सभापतिका रूपमा अद्यावधिक गर्ने निर्णय गरेको हो । यस निर्णयसँगै कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ ।
आयोगले देउवा पक्षले चाहेमा सीमित अवधिका लागि नयाँ दल दर्ताको प्रक्रिया सहज बनाउने निर्णयसमेत गरेको छ । देउवा पक्ष गगन नेतृत्वको कांग्रेसमा नरहने निर्णय गरेमा नयाँ दल तथा नयाँ चुनाव चिह्न प्रदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।
