तेहरान । इरान गहिरो आर्थिक र राजनीतिक संकटतर्फ धकेलिँदै गएको छ।
राष्ट्रिय मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुग्दै प्रति अमेरिकी डलर करिब १.४५ मिलियनसम्म अवमूल्यन भएको छ।
वर्षको सुरुदेखि मात्र हेर्दा रियालको मूल्य लगभग आधा घटिसकेको छ, जसले आम नागरिकको जीवनयापन झन् कठिन बनाएको छ।
देशमा महँगी चरम सीमामा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार खाद्य वस्तुको मूल्य करिब ७२ प्रतिशतले बढेको छ भने औषधिको मूल्य ५० प्रतिशतसम्म महँगिएको छ। यति मात्र होइन, सरकारले सन् २०२६ का लागि प्रस्तुत गरेको बजेटमा ६२ प्रतिशतसम्म कर वृद्धि गर्ने प्रस्ताव गरेपछि जनआक्रोश विस्फोटक बनेको छ।
विशेषगरी युवा पुस्ता, जसलाई ‘जेन–जी’ भनिन्छ, देशभर सडकमा उत्रिएका छन्। उनीहरूको भनाइ छ—अब गुमाउन केही बाँकी छैन, परिवर्तन बाहेक अर्को विकल्प छैन।
शनिबार सर्वोच्च नेता अली खामेनीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै जारी प्रदर्शनको दोष विदेशी शक्तिमाथि थोपरेका छन्। उनले विदेशीका लागि काम गर्ने “भाडाका मानिसहरू” ले सार्वजनिक सम्पत्ति तोडफोड गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न खोजेको आरोप लगाए।
खामेनीले इरानी जनता एकजुट भएर सबै शत्रुलाई परास्त गर्ने दाबी गर्दै ट्रम्पलाई आफ्नै देशका समस्यामा ध्यान दिन आग्रह गरे। इस्लामिक रिपब्लिक सयौँ हजार मानिसको रगतको बलमा स्थापना भएको भन्दै कसैको दबाबमा नझुक्ने चेतावनी पनि उनले दिए।
यसैबीच, सन् १९७९ अघि शासन गर्ने पहलवी वंशका क्राउन प्रिन्स रजा पहलवीले आफू इरान फर्कने तयारीमा रहेको घोषणा गरेका छन्। करिब पाँच दशकदेखि अमेरिकामा निर्वासनमा रहेका ६५ वर्षीय पहलवीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय आन्दोलन निर्णायक मोडमा पुगेको अवस्थामा इरानी जनतासँगै उभिन चाहेको बताएका छन्।
केही प्रदर्शनकारीहरूले उनलाई धर्मनिरपेक्ष र लोकतान्त्रिक विकल्पको रूपमा अघि सार्दै सत्ता सुम्पनुपर्ने माग गरिरहेका छन्। युवा पुस्ताको ठूलो हिस्साले पहलवीको पुनरागमनले आर्थिक स्थिरता, अन्तर्राष्ट्रिय स्वीकार्यता र व्यक्तिगत स्वतन्त्रता ल्याउने विश्वास व्यक्त गरेको छ।
इरानको अर्थतन्त्र अत्यधिक रूपमा तेल निर्यातमा निर्भर छ। सन् २०२४ मा कुल निर्यात २२.१८ बिलियन डलर रहे पनि आयात ३४.६५ बिलियन डलर पुगेको थियो, जसले ठूलो व्यापार घाटा सिर्जना गर्यो।
सन् २०२५ मा तेल निर्यात घट्नु र अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा हुनुले यो घाटा करिब १५ बिलियन डलर पुगेको अनुमान छ। इरानले आफ्नो करिब ९० प्रतिशत तेल चीनलाई निर्यात गर्दै आएको छ। चालु वर्ष जीडीपी वृद्धि ०.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ।
प्रतिबन्ध नहटेसम्म वा आणविक सम्झौता पुनःस्थापना नभएसम्म अर्थतन्त्र र मुद्रा स्थिर हुने सम्भावना न्यून देखिन्छ। यही पृष्ठभूमिमा इरान राजनीतिक, आर्थिक र सामाजिक संकटको गहिरो खाडलमा फसेको छ।
सडकमा उत्रिएका नागरिक परिवर्तनको माग गरिरहेका छन् भने सत्तारूढ संरचना कुनै पनि मूल्यमा आन्दोलन दबाउने अडानमा देखिन्छ। आगामी दिनहरू इरानका लागि अझ निर्णायक र सम्भावित रूपमा अशान्त बन्ने संकेत देखिन थालेका छन्।
